×

वीरगञ्ज, ९ मंसिर ।  वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता अन्तराष्ट्रिय व्यापारिक संगठनसँग आवद्ध भएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको साधारण सदस्यबाट शुरुवात गरेको उनको व्यवसायीक यात्रा जिल्ला, केन्द्र हुँदै अन्तराष्ट्रियस्तरसम्म पुग्न सफल भएका छन् ।

युएई सरकारको दुतावासले सिईओ क्लब ग्लोबल र सेन्टर फर डिप्लोमेटिक डायलग (सिईडिआईडी)सँगको सहकार्यमा गठन गरेको नेपाल युएई बिजनेस काउन्सिल घोषणा समारोहका अवसरमा डा. गुप्तालाई द्वितिय उपाध्यक्षमा मनोनित गरिएको छ ।

नेपाल र युएईबिचको व्यापारीक सम्बन्धलाई विस्तार गर्ने र एकअर्कासँग हातेमालो गर्दै अगाडी बढ्ने अभिप्रायले युएईको दुतावासले गठन गरेको नेपाल युएई बिजनेस काउन्सिलको द्वितिय उपाध्यक्षमा डा. गुप्ता मनोनित भएका हुन् । नेपालमा उद्योग र व्यवसायको क्षेत्रमा स्थापित नेतृत्वहरुमध्ये १५ सदस्यीय सम्मिलित नेपाल युएई बिजनेस क्लब गठन गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिप जंग पाण्डेका छोरा प्रज्वल जंग पाण्डेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती गठन भएको हो । जसको द्वितिय उपाध्यक्षमा नेपाल चामल, दाल तथा तेल संघका केन्द्रिय अध्यक्षसमेत रहेका डा. गुप्ता चयन भएका हुन् ।

विकास र प्रविधिले उल्लेखनीय फड्को मारेको युएईसँग अब नेपालको प्रत्यक्ष सम्बन्ध जोडिएको र यसले नेपालको उद्यम, व्यापार एवम् व्यवसायको क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि डा. गुप्ताले व्यक्त गरेका छन् ।

डा. गुप्तासहित मनोनित भएका कार्यसमितीलाई नेपालका लागि युएईका  राजदूत साहिद हमदान अल नक्बीले सपत ग्रहण गराएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष उक्त संस्थामा द्वितिय उपाध्यक्षको रुपमा मनोनित हुनु वीरगञ्जवासी मात्रै नभएर सम्पुर्ण नेपालीहरुको लागि पनि ठूलो उपलब्धी भएको उद्योगी व्यवसायीहरुको प्रतिक्रिया छ । 

 

Back to top