×

वीरगञ्ज, ९ मंसिर ।  जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

ड्राइपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेको बा. ३ ख ८८०८ नम्बरको मिनि ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ बहुअरी सडखण्डमा रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनीको बोराभित्रबाट ५४ बोतल कोरेक्स फेला परेको प्रहरीले जनाएको छ ।

सोही समयमा ना.५ख ६८७७ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटमुनी बोराभित्र लुकाईएको २ सय २३ बोतल कोरेक्स फेला परेको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रवक्ता खनालका अनुसार बरामद जम्मा २ सय ७७ बोतल कोरेक्ससहित २ वटै मिनी ट्रक नियन्त्रणमा लिएको छ । यस्तै मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ निवासी ३५ वर्षीय अनुपत बर्ताैला, मकवानपुरकै हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ निवासी ४५ वर्षीय राजु बस्नेत,  झापाको मेची नगरपालिका वडा नम्बर १ का ५० वर्षीय गोपाल थापा र मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ निवासी ३१ वर्षीय प्रमोद श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खनालले बताए ।

पक्राउ परेका चारैजनाविरुद्ध लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ । 
 

Back to top