×

वीरगञ्ज, ९ मंसिर । धार्मिक अतिवाद र आतंकवादबाट मुलुकलाई जोगाउन सरोकारवालाले आग्रह गरेका छन् । राष्ट्रिय एकता अभियान पर्साले आयोजना गरेको नेपालको राष्ट्रिय सुरक्षा र २६÷११ मुम्बई हमला विषयक परिचर्चा कार्यक्रममा सम्बोधन गर्ने वक्ताहरुले धार्मिक अतिवाद र आतंकबाद दुवै क्रियाकलापले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती थपेकोे भन्दै चिन्ता व्यक्त गरेका छन् । 

धार्मिक अतिवादी संगठन र वाह्य आतंकवादी संगठनहरुबाट भारतमा विभिन्न आपराधिक घटना भएको उदाहरण बताउँदै उनीहरुले त्यसतर्फ राज्य गम्भिर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार अनिल तिवारीले नेपालको राष्ट्रिय सुरक्षा र २६÷११ मुम्बई हमलाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले समाजमा आएर सेल्टर लिएर आतंकवादी गतिविधि सञ्चालन भईरहेकोमा सचेत हुन आग्रह गरे । 

नेपाल ब्राह्मण समाजका अध्यक्ष हरि नारायण मिश्रले मुम्बई घटना भारतका लागि मात्रै नभएर विश्व समुदायका लागि चेतावनी भएको बताए । 

गाँजालाई खुला गर्दा आतंकवादलाई सहयोग पुग्ने उनको दावी छ । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम नरेश यादवले नेपाल भारत खुला सीमाका कारण आवत जावत सहज भएकोले जुनसुकै समयमा अप्रत्यासित घटना हुन सक्ने तर्फ सबैजना सचेत रहनुपर्ने बताए । 

कुनै वर्ग समुदायलाई दोष दिनुभन्दा भाईचारा, धार्मिक सहिष्णुतामा किन खलबल आईरहेको छ भन्ने विषयमा अध्ययन गर्नुपर्नेमा उनको जोड छ । 

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापाले आतंकवादीको कुनै जाति, धर्म र राष्ट्र नहुने बताउदै आतंकवादले राष्ट्रलाई तहसनहस पार्ने भएकोले कसैले पनि त्यसलाई प्रसय दिन नहुनेमा बताए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले एक अर्कालाई सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिदै शंकास्पद गतिविधि भईरहेको जानकारी भए प्रहरी प्रशासनलाई जानकारी गराउन आग्रह गरेका छन् । 

Back to top