×

जनकपुर, ८ मंसिर ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिह्नको धाक नलगाउन चेतावनी दिएका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताएका हुन् । बुधवार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महसुस गरिरहेको दाबीसमेत गरे । 

अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको र यही मंसिर १५ गतेदेखि सो चिन्हको स्टिकर लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान सञ्चालन गर्ने घोषणासमेत गरे । 

उनले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढ्नका लागि समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको बताए । 

अध्यक्ष नेपालले प्रदेश २ को नामकरण जनकपुर र राजधानी पनि जनकपुर नै राख्न उपयुक्त हुने धारणासमेत राखे ।

Back to top