×

काठमाण्डौ । गायन रियालिटी सोको भिडमा नयाँ गायन सो थपिएको छ । भ्वाइस स्टार नेपालले गायक लक्षित ‘नेपालल्स सिङ्गिङ सुपरस्टार’ आयोजना गर्न लागेको हो । यो प्रतियोगितामा विजयी प्रतियोगीले २५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । 

यो गायन रियालिटी सो इमेज च्यानलबाट प्रसारण हुने भएको छ । सोमबार इमेज टिभी एचडी र भ्वाइस स्टार नेपालबीच सम्झौता भएको छ । ईमेज एचडीका तर्फबाट कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायव महाप्रबन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रवि श्रेष्ठ र सुरज जोशीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’मा सांगीतिक क्षेत्रमा संघर्षरत गायक÷गायिका तथा दूरदराजमा रहेका प्रतिभालाई स्थान दिइने निर्देशक रवि श्रेष्ठ बताए । रविका अनुसार सोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरूको छनोट गरिनेछ । डिजिटल अडिसन पुसको पहिलो साताबाट खुल्ला हुनेछ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ ।

२५ श्रृंखलासम्म चल्ने प्रतिष्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन् । विजेताको घोषणा दर्शकले दिएको भोटका आधारमा नै हुनेछ । भोटका लागि सजिलो पे भोटिङ पार्टनर बनेको छ ।सोको निर्णायकहरु पक्का भइसकेका छन् । तर, प्रचारको लागि ‘गेस द जजेज’ क्याम्पेन हुनेछ । उक्त क्याम्पेनमा विजयी हुनेले उचित पुरस्कार पाउनेछन् ।

Back to top