×

फाइल तस्विर ।

वीरगञ्ज, ६ मंसिर । 

नेपालकै सबैभन्दा ठूलो डिपार्टमेन्टल स्टोरको रूपमा चिनिने भाटभटेनी सुपर मार्केटको शाखा वीरगञ्जमा पनि विस्तार हुने भएकोछ । भाटभटेनीको १९औं शाखाको रूपमा वीरगञ्जमा ढिलै भएपनि निर्माण कार्य शुरू भएको छ ।

करीब डेढ अर्ब रुपैयाँको लगानीमा सुविधासम्पन्न भाटभटेनीको शाखा सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्य भइरहेको छ । पछिल्लो तीन महीनादेखि वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीस्थित सिप्रदी ट्रेडिड्ढो दक्षिणपट्टि टाँसिएकै जग्गा किनेर निर्माण कार्य भइरहेको छ । अहिले चारैतिरबाट कर्कट पाताले घेरेर जग तथा अन्य भौतिक संरचनाको निर्माण कार्य शुरू भएको प्राविधिकहरूले बताएका छन् ।

भाटभटेनीको लागि एक बिघा जग्गामा निर्माण कार्य शुरू गरिएको छ । गण्डक, बहुअरीको मुख्य सडकखण्डको पूर्वपट्टिको उक्त जग्गा खरीदमा रु ९० करोडभन्दा बढी खर्च भएको एकजना जग्गाधनीले बताए ।

डिपार्टमेन्टल स्टोरमा खाद्य सामग्री, लत्ताकपडा, दैनिक उपभोग्य सामान, कस्मेटिक सामान, सवारीसाधन, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामान बिक्री हुने बताइएको छ । समाज आधुनिकतातर्फ गइरहेकोले एकै थलोमा सबै सामान बिक्री गर्ने हिसाबले भाटभटेनी सुपर मार्केटले काठमाडौंका विभिन्न स्थान, चितवन, हेटौंडा, धरान, इटहरी, विराटनगर, भैरहवा, बुटवललगायत ठाउँमा शाखा सञ्चालन गरिसकेको छ ।

Back to top