×

वीरगञ्ज १ मंसिर । आज बुधबारबाट नेपाल विद्युत प्राधिकरणले नयाँ महसुल दर लागु गरेको छ । प्रधाकिरणले जारी गरेको महसुलमा ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँमात्र लाग्ने उल्लेख गरिएको छ ।

विपन्न नागरिकहलाई लक्षित गरी ल्याइएको यो योजनाबाट देशभर २२ लाख ग्राहस्थ वर्गले सुविधा पाउने भएका छन् । सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको अहिलेको मासिक न्यूनतम शुल्कमा २५ रुपैंया कटौती गरी क्रमश १००, १२५ र १५० रुपैयाँ कायम गरिएको प्राधिकरणले जनाएको छ ।

मासिक ४०० युनिटमाथि विद्युत खपत गर्ने उपभोक्ताहरूको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाइएको छ । सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रुपैयाँले घटाएर क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी , सिंगल फेजबाट आपूर्ति लिइ मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्नेहरूको लागि प्रति युनिट ५० पैसा घटाएर प्रतियुनिट ९।५० रुपैयाँ र र सिंगल फेजबाट आपूर्ति लिइ मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्नेको लागि इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाइएको छ ।

साथै सिँचाइ ग्राहकको लागि पनि महसुल दर घटाइएको छ । २३०÷४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ वर्गका लागि इनर्जी शुल्क प्रतियुनिट २।०५ ले घटाएर २।२५ कायम गरिएको छ ।

Back to top