×

वीरगञ्ज ३० कार्तिक । शहरी विकास तथा भवन कार्यालय पर्साका कार्यालय प्रमुख रुद्रनारायण दासले आफ्नै कार्यालयका लेखा अधिकृतको सरुवाको चक्करमा मन्त्रालयमा गएर बसेकाले कार्यालयको कामकाज ठप्प भएको छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरधाम धनुषाका सचिव दिपककुमार दास मेरो आफन्त भएको भन्दै र दिपककुमार दासले नै लेखा अधिकृतको सरुवा गराइन्छ भन्दै कार्यालय प्रमुख दास जनकपुरमा अड्डा जमाएर बसेकाले बारा, पर्सा र रौतहटका जनता आवास कार्यक्रमको भुक्तानी हुन सकेको छैन ।

कार्यालय प्रमुख दासलाई सचिव दासले जसरी पनि लेखा अधिकृतको सरुवा गराइदिन्छु भन्दै आश्वासन दिएको कार्यालय प्रमुख दासले बताउने गरेका छन् । कार्यालय प्रमुख दासले कार्यालयमा रहेका सबै इन्जिनियर र सबइन्जिनियरहरुलाई नियुक्ति नदिएर जनता आवास कार्यक्रमतर्फ बारा, पर्सा र रौतहटको सम्पूर्ण बिल आफैं तयार गरी चेकजाँच र प्रमाणित समेत आफैंले गरेको कारण लेखा प्रमुखले टिप्पणी उठाएर भुक्तानीको लागि कार्यालय प्रमुखसमक्ष पेश गर्दा टिप्पणी आदेश स्वीकृत गर्नुको सटा लेखा प्रमुखलाई अपशब्द प्रयोग गरी गाली बेइज्जती गरी कार्यालय छाडेर लेखाको सरुवाको लागि मन्त्रालयमा बसेको हुनाले सेवाग्राही मारमा परेका हुन् । 

भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र सचिव दासको सेटिंगमा कार्यालयका सम्पूर्ण सेवा करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई बर्खास्त गरेपछि विवाद बढेको कार्यालयसम्बद्ध स्रोतले बतायो । सोही विवाद बढ्दै गएपछि कार्यालय प्रमुख दास लेखा अधिकृतको सरुवाको लागि शक्तिकेन्द्र धाउन थालेका हुन् । 

कार्यालय प्रमुखले वीरगञ्जमा हाजिर भएदेखि नै मनोमानी तरिकाले नियम मिचेर काम गर्दै आए पनि सचिव दासले उनलाई संरक्षण दिएको कर्मचारीहरु बताउँछन् । सचिव दास आफ्नो नातेदार भएको बताउने कार्यालय प्रमुख दासले आफू विभिन्न राजनीतिक दलका नेताहरुको निकट भएको भन्दै धाक देखाउँदै हिड्ने गरेका छन् । 

सेवाग्राहीको भनाइअनुसार प्रमुख दासले आफ्नो एकाउन्टेन्ट ल्याएपछि मात्र भुक्तानी गर्छू भन्ने गरेका छन् । सचिव र कार्यालय प्रमुखको चलखेलको कारण भुक्तानी नपाएको गुनासो उनीहरुको छ  

लेखा अधिकृतको सरुवा नभएसम्म मनोमानी तरिकाले कार्यालय चलाउन नसक्ने भएपछि कार्यालय प्रमुख दास लेखा अधिकृतको सरुवाको लागि अनेक तिकडममा लागेका छन् । जसका कारण सरोकारका सेवाग्राही मारमा परेका छन् । 

सामान्यतः कुनै कर्मचारीको सरुवा २ वर्षमा हुने भए पनि कार्यालय प्रमुख दास आफू मातहतका लेखा अधिकृतलाई सो अवधि अगाडि नै सरुवा गराउन मन्त्रालयमा धर्ना दिएर बसेका छन् ।

शहरी विकास तथा भवन कार्यालय पर्साका कार्यालय प्रमुख रुद्रनारायण दासको चर्तिकला भिडियो हेर्न यहा क्लिक गर्नु  

शहरी विकास तथा भवन कार्यालय पर्साका कार्यालय प्रमुख रुद्रनारायण दासको चर्तिकला भिडियो हेर्न यहा क्लिक गर्नु  

 

Back to top