×

मधुसुदन चौरसिया 
वीरगञ्ज, १६ कार्तिक । 

                                बदलाव यात्रा ! भनिन्छ परिवर्तनको शुरुवात आफैबाट गर्नुपर्छ । हुन पनि हो, आफु नबदलिएसम्म र आफ्नो दृष्टिकोण नबदलेसम्म अरुलाई परिवर्तन गराउँछु भन्नु हाँस्यास्पद हुन सक्छ । अनुभव धेरै नहोला । तर सुनाई, बुझाई, गराई, पढाई र अहिलेसम्मको भोगाईका आधारमा धेरै परिवर्तनको प्रारम्भ गर्न सक्छु भन्नेमा म विश्वस्त छु । 

भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, कमिशन जस्ता कुराहरुले जरो गाडेको क्षेत्रमा ईमान्दारिताको पाठ पढाउनु आफैमा चुनौती त छ नै । तर जहाँ चुनौती हुन्छ, त्यहीँ अवसर हुन्छ भन्ने भनाईलाई कसैले नकार्न सक्तैन । अवसर भन्ने वित्तिकै फेरी कसैले सम्पती कमाउने र हैकम जमाउने भनेर नबुझ्लान् पनि भन्न सकिन्न । खैर केही छैन । बुझाई आफ्नो आफ्नो । 

खासमा जनतालाई विकासको प्रत्याभुती दिलाउने, समाजमा सुशासन कायम गर्ने, रोजगारको सृजना गर्ने, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका बेथितीहरुको अन्त्य गर्ने जस्ता कामहरु गर्ने अवसर प्राप्त हुन्छ भन्नु नै मेरो आशय हो । 

राष्ट्रको मूल निती नै राजनीति हो । परिवर्तनका लागि राजनीति अपरिहार्य छ । राजनीतिबिना परिवर्तनको कल्पना असम्भव जस्तै छ । परिवर्तन गर्नकै लागि विद्यार्थी राजनीतिदेखि नै मैले सक्रियता पूर्वक राजनीतिलाई निरन्तरता दिदैँ आएको छु । 

यद्यपी अब भने विद्यार्थी राजनीति भन्दा केही माथी उठेर काम गर्ने जोश र जाँगर पलाएको छ । देश र जनताका लागि केही पृथक गर्ने सपना बुनेको छु । समाजमा विद्यमान कुरिती र कुसंस्कारको जरो उखेलेर सुशासन र सुसंस्कारको रिती बसाल्ने जमर्काे गरेको छु । धेरै भूमिका नबाँधेर भन्नुपर्दा आगामी निर्वाचनमा म जन्मेको, हुर्केको क्षेत्र पर्साको विन्दवासिनी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने योजना बनाएको छ । विगतदेखि नै चुनावमा हुने आर्थीक चलखेलको अन्त्य गर्नुका साथै जनताहरुलाई आर्थीक प्रलोभन भन्दा पनि विकास र सुशासनका प्रतिबद्धताले पनि विश्वास दिलाउन सकिन्छ भन्ने उदाहरण बन्न चाहन्छु । 

५ वटा मात्रै वडा रहेको गाउँपालिकामा लाखौ मूल्य बराबरको सिसाको झ्यालहरु बन्द गरेर एसीको मजा लिँदै सवार गर्ने सरकारी ४ पाङ्ग्रे सवारी नै चाहिन्छ भन्ने नभएर साइकल चढेर सबैसँग भेटघाट गर्दै नागरिकको गुनासो सुन्दै पनि पुरै गाउँपालिका भ्रमण गर्न सकिन्छ भनेर प्रमाणित गर्न चाहन्छु । 
 
आफैसँग निजी गाडी पनि भएकाले सरकारी गाडीको मूल्य बराबरमा अँझै केही रकम थपथाप गरेर ५ वटै वडाका स्वास्थ्य कार्यालयमा एम्बुलेन्स राख्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु । आफ्ना आसेपासेलाई मात्रै नियुक्ती दिनुका साथै कमिशनको आधारमा सरुवा, बडुवा जस्ता प्रवृतिको पतन गर्न चाहन्छु । 

विभिन्न किसिमका अनुदान एवम् योजनाहरु नजिकका नातेदारलाई नभएर आवश्यक्ताका आधारमा समानुपातिक ढंगले वितरण गर्नुपर्छ भन्ने परिपाटीको विकास गर्न चाहन्छु । यी सबै केही प्रतिनीधिमुलक योजना मात्रै हुन् । यसका अलावा अरु पनि थुप्रै सपनाहरु छन् जसले गाउँलाई मात्रै नभएर गाउँवासीलाई पनि यथार्थमै सुखी र समृद्ध बनाउँछ भन्नेमा म विश्वस्त छु । तर यो सबै कामहरु म एक्लैले चाहेर सम्भव छैन । यसका लागि आम नागरिकले पनि कसले वास्तवमै जनताको भावनालाई कदर गर्न सक्छ भनेर बुझ्न आवश्यक छ । 
 

Back to top