×

काठमाण्डाै ।  चीनमा ४० लाख जनसङ्ख्या भएको एक सहरमा आज मङ्गलवारदेखि पूर्णरूपमा लकडाउन लागू गरिएको छ । सहरमा कोरोना बढ्दो सङ्क्रमणपछि यो कदम उठाइएको हो । मानिसहरूलाई अति आवश्यक पर्दा मात्र बाहिर निस्किन भनिएको छ । 

यद्यपि चीनमा कोरोना सङ्क्रमण दर निकै कम छ तर गांसु प्रान्तको राजधानी लानजुमा लकडाउन लागू गरिएको हो । हिजो सोमवार चीनमा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा लानजुमा मात्र ६ जनामा सङ्क्रमण देखिएको थियो । 

समाचार एजेन्सी एएफपीका अनुसार सहरका अधिकारीहरूले लानजुमा प्रवेश र बाहिर जान पूर्णरूपमा नियन्त्रित गरिनेछ । लानजु प्रशासनले एक विज्ञप्तिमा भनेको छ, ‘सबै मानिसहरू आफ्नो हाउजिङ कम्प्लेक्सभित्र रहनुपर्नेछ ।’

यसअघि पनि उत्तरी चीनमा हजारौँ मानिसहरूलाई घरमै रहन कडा आदेश दिइसकिएको छ । चीनमा कोरोनाको अहिलेको सङ्क्रमण डेल्टा भेरिएन्टसँग जोडेर हेरिएको छ । 

स्वास्थ्य अधिकारीहरूका अनुसार परीक्षण दर बढेसँगै सङ्क्रमित हुने मानिसको सङ्ख्या पनि बढ्न सक्छ ।  

Back to top