×

वीरगञ्ज, ९ कत्तिक । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास साउन–भदौ–असोज) मा  नेपालको वैदेशिक व्यापार ५ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा नेपालले नेपालले १३२ देशबाट ४ खर्ब ७८ अर्ब ५२ को वस्तु तथा सामग्री आयात गरेको छ। सोही अवधिमा नेपालबाट भने ६५ अर्ब ५ करोडको वस्तु तथा सेवा निर्यात भएको छ ।

भन्सार विभागले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार पहिलो ३ महिनामा वैदेशिक व्यापारमा गत वर्षको तुलनामा वद्धि भएको छ । कुल वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार नेपालको निर्यातसमेत वृद्धि भएको छ । नेपालबाट चालू आवको यस अवधिमा ६५ अर्ब ५ करोडको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्ष सोही अवधिमा नेपालले ३१ अर्ब ४ करोडका वस्तु निर्यात गरेको थियो । 

समीक्षा अवधिमा व्यापार घाटा ५८ प्रतिशतले बढेको छ । विभागको तथ्यांकअनुसार चालू आवको पहिलो त्रैमासको व्यापार घाटा ४ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । गत आवको यही अवधिमा यस्तो घाटा २ खर्ब ६१ अर्ब थियो । चालू आवको ३ महिनामा नेपालबाट २२ अर्ब २ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ भने ४ अर्ब ८५ करोडको पाम तेल निर्यात भएको छ ।

चालू आवको प्रथम त्रैमासमा २ अर्ब ४५ करोड मूल्यका कार्पेट, टेक्स्टायल जस्ता वस्तुहरूको निर्यात भएको छ । 

नेपालले यो अवधिमा पेट्रोलियम पदार्थ, स्टील, मेसिनरी पार्टपुर्जा बढी आयात गरेको छ । चालू आवको असोजसम्ममा १२ अर्ब ८६ करोड मूल्यको पेट्रोल र २३ अर्ब ३२ करोड रुपैयाँको डिजेल नेपालले आयात गरेको छ ।  १७ अर्ब रुपैयाँको खाद्य वस्तु आयात गरेको छ ।    

चालू आवको पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार रू. १ खर्ब ७१ करोड मूल्य बराबर रहेको थियो । त्यस अवधिमा नेपालले रू. २० अर्ब ७६ करोडका वस्तुहरू निर्यात गरेको थियो भने १ खर्ब ५० अर्ब रुपैयाँको आयात गरेको थियो ।

भदौ महिनामै कुल वैदेशिक व्यापार ३ खर्ब ५८ अर्ब पुगेको थियो । भदौमा नेपालको निर्यात ४४ अर्ब ३ करोड पुगेको थियो । गत आवको तुलनामा यो चालू आवमा नेपालको निर्यात अवस्थामा सुधार देखिएको छ ।

Back to top