काठमाण्डौ, ८ कार्तिक । २३ वर्ष मुनिको एएफसी एसियन कप छनोटमा नेपालले आज इरानसँग खेल्दैछ ।
खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बेलुका पौने ५ बजे हुनेछ । नेपाल आज सुखद सुरुवात गर्ने दाउमा छ । तर, बलियो टिम इरानलाई हराउन त्यति सजिलो भने छैन । नेपालले २३ वर्ष मुनिको एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो ।
यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यतिबेला नेपाल ५–० गोल अन्तरले पराजित भएको थियो । छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा इरानसँगै आयोजक ताजिकिस्तान र लेबनान छन् ।
नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग आउँदो बिहीवार खेल्ने छ भने आइतवार लेबनानसँग खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि एसियन कपमा छनोट हुनेछन् ।