×

वीरगञ्ज ७ कार्तिक । शहरी विकास तथा भवन कार्यालय पर्साका कर्मचारीहरुले कार्यालय प्रमुखले विभागीय मन्त्रालयको पत्रको अवज्ञा गदै आफ्नो व्यक्तिगत लाभको लागि २२ जना कर्मचारीलाई कारार र दैनिक ज्यालादारीमा नियुक्त गरेको पोल खुलेको छ । गत असारमा करार सकिएका कर्मचारीलाई अहिलेसम्म काममा लगाएर अहिले अन्य व्यक्तिलाई नियुक्त गरेपछि हाकिम रुद्रनारायण दासको कर्तुतको पर्दाफास भएको हो ।

स्थापनाकालदेखि सेवा करार र दैनिक ज्यालादारीमा कामकाज गर्दै आइरहेका कर्मचारीहरुलाई निरन्तरता नदिएपछि उनीहरु संघर्षमा उत्रिएका छन् । कर्मचारी संघर्षमा उत्रिएपछि दासको करामत बाहिर आएको हो ।

२२ जना नयाँ कर्मचारीहरुलाई गोप्य रुपमा नियुक्ती गरेको कुरा सार्वजनिक भएपछि कार्यालयमा सेवा करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीले आफूहरुलाई जागिरबाट बरखास्त गर्ने गरी अरु कर्मचारीहरुको नियुक्तिको लागि मन्त्रालयमा सिफारिस गरेको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्सा ज्ञापन पत्र बुझाएका छन् ।

सेवा करार र दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाइएको ज्ञापनपत्रमा सो कार्यालयमा सेवा करार र दैनिक ज्यालाजारीमा कार्यालय स्थापनाकालदेखि नै निरन्तर रुपमा कामकाज गर्दै अएका कर्मचारीहरुको म्याद थप गर्ने र आवश्यकता अनुसार थप कर्मचारीहरु भर्ना गरी कार्यालयको कामकाज अगाडी बढाउन माग गरेका छन् ।

कार्यालयाट कार्यालय प्रमुखले कुनै पनि कर्मचारी र जनता आवासका संयोजकसँग छलफल नगरी नियुक्ति दिएका छन् । बारा, पर्सा र रौतहटका जनता आवास कार्यक्रमका संयोजक प्रदेशसभा सदस्यले सहमतिमा काम अघि बढाउन निर्देशन दिए पनि अटेर गरी मन्त्रालयमा अड्डा जमाएर बसेको पीडित कर्मचारी बताउँछन् ।

कार्यालय प्रमुख दासले राजनीतिक पहुँचको धाक लगाएर मनोमानी गर्दै आएको गुनासो कर्मचारीहरुको छ । दासले ‘म उपेन्द्र यादवको नजिकको मान्छे हुँ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दीपक दास मेरो आफन्त हो । मेरो कसैले केही बिगार्न सक्दैन’ भन्दै अन्य कर्मचारीलाई थर्काउँदै हिड्ने गरेको दशैंमा समेत तलव नपाएका पीडित कर्मचारीहरुले बताए ।

मन्त्रालयले चालु आवका लागि पुराना कर्मचारीलाई निरन्तरता दिन निर्देशन दिए पनि दासले गत असोज २४ मा कर्मचारी भर्नाको लागि मन्त्रालयमा सिफारिस गरेका थिए ।

मन्त्रालयको परिपत्र अनुसार विगत वर्षदेखि कार्यरत कर्मचारीहरुलाई सिफारिस गर्नुपर्नेमा विना कारण पुराना कर्मचारी बरखास्त हुने गरी व्यक्तिगत लाभको लागि अन्य व्यक्तिहरुलाई नियुक्ति गरेको आरोप लागेको छ । दास भने नयाँ कर्मचारीको नियुक्ति नियमानुसार नै भएको दाबी गर्दछन् ।

नयाँ नियुक्ति बदर हुनुपर्ने, कार्यालयमा श्रावण महिनादेखि हालसम्म सेवा करार र दैनिक ज्यालादारीमा काम गरेको कर्मचारीले तलब भुक्तानी पाउनुपर्नेलगायतका माग गरेका छन् । माग पुरा नहुन्जेलसम्म कार्यालयमा कुनै पनि प्रकारको भुक्तानी भएमा कार्यालय प्रमुख र लेखा प्रमुखलाई कार्यालयमा थुनेर तालाबन्दी गर्ने र २ दिन भित्रमा माग पूरा नभएमा शहरी विकास तथा भवन कार्यालय पर्सा, बारा र रौतहटमा तालाबन्दी गर्ने संघर्षका संयोजक इन्जिनियर रविनमनि साहले बताए ।

Back to top