×

रौतहट  ७ कार्तिक । भारतीय बजार सँग सिमा जोडिएको रौतहटमा संगठित तथा पोके तस्करहरुले व्यापक रुपमा तस्करी शुरु गरेका छन ।

पछिल्लो समय रौतहटको सिमाक्षेत्रमा साना पोके तस्कर देखि लिएर ठूला संगठित तस्करहरुको कारोबार मौलाएको छ । सुरक्षाकर्मीहरुको मिलेमतोमै रौतहटका मुख्य नाकाहरुबाटै अवैध रुपमा समान ओसार पसार भइरहेको छ ।

भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सारबाट कर्मचारीकै मिलेमतोमा केही व्यापारीले राजश्व छल्दै कम मूल्यांकन राखेर प्रज्ञापन पत्र बनाएर सँगठीत रुपमा कारोबार नै शुरु गरेका छन ।

तस्करहरुले लाखौं रुपैया राजश्व तिर्नु पर्ने ठाँउमा आयातित बस्तुको मूल्यांकन तथा परिमाण न्यून राखेर केही हजार मात्रै राजश्व बुझाएर भन्सार कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत प्रलोभनमा पारी दैनिक लाखौं रुपैया बराबरको रेडिमेड कपडा तथा मेशिनरी पार्टसको तस्करी शुरु गरेका छन ।

मुख्य भन्सार नाका अगाडिको विद्युतिय पोलमा प्रशासन, भन्सार विभाग तथा गौर भन्सार कार्यालय समेतले निगरानीका लागी सिसिटिभी जडान गरेका छन । तर तस्करीका दृश्य र भन्सार कर्मचारीको बदमासीहरु भने क्यामेराले कैद नै गर्न सकेको छैन ।

“जिल्लामा अहिले पोके तस्करहरु मात्रै होइन पिकअप गाडीबाटै तस्करी भइरहेको छ । कर्मचारी र सुरक्षाकर्मी मिलेका छन त्यसैले ती सामान समातिदैन ।” नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको मासिक नजराना रकम तोकिएको छ ।”

गौर भन्सार नाका बाटै तस्करी भएर आएको सामान जिल्ला प्रहरी कार्यालयको बाटो हुदै गढवा रहेको बसपार्क सम्म पुग्ने गरेको छ । भन्सार देखि बसपार्क सम्म झण्डै आधा दर्जन प्रहरीका पिकेट पार गरेर जादाँ चेकजाँचमा खटेका प्रत्येक सुरक्षाकर्मीले रकम बुझ्ने गर्दछन ।

Back to top