×

'लाहोरमा हिमपात हुने सम्भावना धेरै छ तर भारत र पाकिस्तानबीच द्विपक्षीय सिरिज अहिले सम्भव छैन। हो, यी दुई टोली आइसीसीको प्रतियोगितामा भने आमनेसामने हुन सक्नेछन्,' यो जवाफ थियो भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सुनिल गावास्करको, जब पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान तथा पाकिस्तान क्रिकेट बोर्डका वर्तमान अध्यक्ष रमीज राजाले अघिल्लो वर्ष लकडाउनको क्रममा यी दुई टोलीबीचको सिरिजबारे चर्चा गरेका थिए।

पछिल्लो पटक यी दुई टोली इङ्ग्ल्याण्डमा २०१९ मा सम्पन्न एकदिवसीय विश्वकपमा आमनेसामने भएका थिए। जसमा भारतले डकवर्थ लुइस नियमअनुसार ८९ रनले पाकिस्तानलाई हराएको थियो। आज फेरि यी दुई टोली टी २० विश्वकपमा आमेनसामने हुँदैछन्।

आइसीसी टी-२० विश्वकप १७ अक्टोबरबाट सुरु भइसकेको छ। आधिकारिक रुपमा यसको आयोजक भारत हो, तर प्रतियोगिताहरु यूएई र ओमनमा भइरहेका छन्। यसको कारण कोभिड १९ को प्रभाव हो।

म्याच जसमा टीभी सेट तोडिन्छन्

विश्वकपमा हेर्नपर्ने धेरै विषयहरु हुन्छन्। तर क्रिकेट विश्वकपमा दुनियाँभरको ध्यान भारत र पाकिस्तानबीचको खेलमा केन्द्रीत हुन्छ। यी दुई टिम यसपटक समूह बी मा छन्। भारत र पाकिस्तानबीचको आपसी सम्बन्ध जस्तो होस्, क्रिकेट मैदानमा जब यी दुई टोली प्रतिस्पर्धाका लागि उत्रन्छन्, खेलको टिकट खुलेको भएको घण्टा नबित्दै सकिइसकेको हुन्छ।

म्याचपछि जुन टिमले जित्छ, पटका पड्काएर सेलिब्रेट गरिन्छ भने पराजित भएको देशमा टेलिभिजन सेट फुटाएर भएपनि पीडा हल्का गरिन्छ। म्याच जिताउने खेलाडी रातारात हिरो हुन्छ। खेलको नतिजा यदि अन्तिम ओभरमा आयो भने जो ब्याट्सम्यान या बलर त्यहाँ हुन्छ उ त्यो पुरै खेलको हारको जिम्मेवार ठहरिने गर्छ।

शारजाहमा पाकिस्तानमा जावेद मियाँदादले चेतन शर्माको अन्तिम बलमा छक्का प्रहार गर्दै जित दिलाएको समर्थकहरु अझै सम्झन्छन्। त्यस्तै २००७ मा भारतका कप्तान महेन्द्रसिंह धोनीले जोगिन्दर शर्माबाट अन्तिम ओभर बलिङ गराएका थिए। जसमा उनले श्रीसंतको हातबाट पाकिस्तानका मिस्बाह उल हकलाई क्याच गराए। र, भारत च्याम्पियन पनि बन्यो। शर्मालाई अझैपनि त्यही ओभरका कारण अझै पनि भारतमा प्रिय मानिन्छन् भने उल हक आफ्नो त्यो सट अझै बिर्सन सक्दैनन्। त्यसो त त्यसपछि धोनीले भारतलाई २०११ मा विश्व च्याम्पियन, टेस्टको शीर्ष टोली, च्याम्पियन्स ट्रफीको उपाधि लगायतका महत्वपूर्ण उपलब्धि दिलाए तर अझै पनि २००७ मा पाकिस्तानलाई हराएर हाँसिल गरेको २००७ को उपलब्धिलाई नै भारतीय समर्थकले धेरै सम्झन्छन्।

म्याच जसमा भावना जोडिएको हुन्छ

जब जब भारत र पाकिस्तान आमनेसामने हुनेछन्, तब खेलाडीहरुको पुरानो याद पनि ताजा हुनेछ। किनभने यी दुई टोली आईसीसीको प्रतियोगितामा मात्र आमनेसामने हुनेगर्छन्।

भारत पाकिस्तानबीचको खेललाई लिएर पूर्वापाकिस्तानी क्रिकेटर मिस्बाह उल हक भन्छन्, 'जब यी दुई देश आमनेसामने हुन्छन् तब कुन टिमको वरीयता कति छ या कुन टिम कति बलियो र कमजोर छ भन्नेले मतलब गर्दैनन्। म्याच चाहे हक्की होस या क्रिकेट, रोमञ्चक हुन्छ र अन्त्य जबरजस्त हुन्छ।'

भारतसँगको खेललाई लिएर पाकिस्तानी टोलीका कप्तान बाबर आजम ठूलो खेलमा जानु भन्दाअघि सबैभन्दा महत्वपूर्ण कुरा आत्मविश्वासको स्तर हुने बताउँछन्।

'टिम र खेलाडीको मनोबल उच्च छ। जो बितिसक्यो त्यसलाई छाडेर हामी अगाडि सोचेर आउने म्याचका लागि हामी पूर्ण तयार छौं। र, हामी राम्रो क्रिकेट खेल्नेछौं।' उनी भन्छन्।

'ब्ल्याङ्क चेक लेउ र भारतलाई हराएर जति अमाउन्ट चाहिन्छ भर'

पाकिस्तानका सिकन्दर बख्त भारतसँगको म्याच अघिका घटनाहरु सम्झन्छन्। जसमा उनलाई साथीले भारतसँगको म्याच हारे आफ्नो घरमा नआउन भनेको देखि एकजना सेठले ब्ल्याङ्क चेक लिन र भारतलाई हराएर जति एमाउन्ट चाहिन्छ भर्न भनेको स्मरण गर्छन्।

'एकजना ठूला सेठले भने - यो ब्लाङ्क चेल लेउ र भारतलाई हराएर कति एमाउन्ट चाहिन्छ त्यसमा भरेर लेउ। यस्तोसम्म दबाव हुन्छ,' उनी अगाडि भन्छन्, 'यस्ता कुराहरु हुँदा खेलाडीमा दबाव र असर त पर्छ नै।'

उनी अगाडि भन्छन्: यदि हामीले भारतसँगको पहिलो म्याच जित्यौं भने विश्वकप जित्न हामीलाई सहज हुनेछ। जे भए पनि भारत र पाकिस्तानबीच अजिब प्रतिद्वन्दिता छ।

टी २० विश्वकपमा भारत र पाकिस्तान

सन् २००७ को विश्वकपमा भारत-पाकिस्तान समूह डीमा थिए। पहिलो म्याच टाइ भएको थियो। यही प्रतियोगितको फाइनलमा भारतले ५ रनले पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो।

त्यसपछि सन् २००९ मा अभ्यास म्याचमा भारतले ९ विकेटले जित निकालेको थियो। त्यसबाहेक भारत पाकिस्तान आमनेसामने भएनन्। फाइनलमा भने श्रीलंकालाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो।

२०१० को विश्वकपमा यी दुई टोली आमनेसामने भएनन्। २०१२ मा भारतले सुपरओभरमा ८ विकेटको जित निकाल्यो। २०१४ मा ७ विकेट र २०१६ मा ६ विकेटले हराएको थियो।

भारत र पाकिस्तान आज पौने ८ बजे दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा आमनेसामने हुँदैछन्। बीबीसी हिन्दीबाट भावानुवाद

Back to top