×

वीरगञ्ज ६ कार्तिक ।  प्रदेश नं २ का उर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले आर्थिक रुपमा महिला सशक्तिकरण विना अपेक्षित आर्थिक तथा सामाजिक विकास सम्भव नहुने बताएका छन् ।

नेपाली युवा उद्यमी मञ्ज (एनवाईईएफ) वीरगञ्ज र लेडिज सर्कल नेपालको सहकार्यमा शुक्रवार साँझ वीरगञ्जमा सम्पन्न नेपाली युवा महिला उद्यमी सम्मेलनको उद्घाटन सत्रमा मन्त्री शर्माले यस्तो बताएका हुन् । 

आर्थिक रुपमा महिला सशक्तिकरणको विषय जोडतोडले अगाडि आए पनि नेपालका महिलाले आर्थिक क्रियाकलापमा सहभागिताको अवसर नपाएको मन्त्री शर्माले उल्लेख गरे । उद्यम व्यापारमा युवा महिलालाई अघि बढाउन नीतिगत व्यवस्थाको खाँचो उनले औंल्याए ।
 
प्रदेश नं. २ को सरकार महिला उद्यमशीलता प्रवद्र्धनमा प्रतिबद्ध भएको मन्त्री शर्माले स्पष्ट पारे । ‘प्रदेश २ सरकार महिलाहरूलाई उद्यममा अघि बढाउन नीतिगत प्रबन्ध र सुधारका सवालमा सधैं तत्पर छ । यसमा सरकार र उद्यमी बीच सहकार्यको आवश्यकता छ,’ उनले भने । 

उर्जा तथा खानेपानी विकास मन्त्रालयले सञ्चारमाध्यम, कृषि र विद्यालयका लागि सौर्य उर्जामा सहुलियतको योजना बनाइरहेको र त्यो योजनामा महिला उद्यमलाई पनि समावेश गर्ने आश्वासन पनि मन्त्री शर्माले दिए । 

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले उद्यममा महिलाको उल्लेख्य सहभागिता आवश्यक भएको बताए । महिला उद्यमी र उद्यमशीलता प्रवद्र्धनमा संघले सहकार्य गर्ने प्रतिबद्धता पनि गुप्ताको थियो । 

एनवाईईएफ अध्यक्ष उदीप श्रेष्ठले एनवाईईएफले युवा उद्यमशीलतालाई अघि बढाउन संस्थागत पहल गर्दै आएको बताए । एनवाईईएफ महिला उद्यमी अध्यक्ष सहारा जोशीले उद्यम व्यापारका क्षेत्रमा महिलाको अग्रसरता अपेक्षित रुपमा हुन नसकेको बताइन् । उनले उद्यममा महिला नेतृत्वको आवश्यकतामा जोड दिइन् ।

एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले मोफसलमै पहिलो पटक वीरगञ्जमा भएको सम्मेलनबाट महिला उद्यमीलाई प्रोत्साहन मिल्ने बताए । सफल तथा स्टार्टअप उद्यमी बीच अन्तरक्रियात्मक सम्मेलनबाट नयाँ उद्यमीलाई अघि बढ्न हौसला मिल्ने अग्रवालको दाबी थियो । महिला उद्यमशीलता विकास र समस्या समाधानमा सम्मेलन सहयोगी हुने विश्वास पनि उनले व्यक्त गरे । 

सम्मेलनमा १०० भन्दा बढी महिला उद्यमीको सहभागिता थियो । सो अवसरमा एनवाईईएफले वीरगञ्जकी ८० वर्षीया महिला उद्यमी भगवती अग्रवाललाई सम्मानित गरेको छ । अर्थतन्त्रमा महिलाको सक्रिय सहभागिताबारेमा अन्तरक्रिया र महिलाहरूको उद्यमयात्राको अनुभव आदानप्रदान पनि भएको थियो । 

Back to top