×

नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को विजेता बन्दै सुपर १२ मा पुगेको छ ।

जितका लागि ४५ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले ७ ओभर १ बलमा २ विकेटको क्षतिमा पूरा गरेको हो । श्रीलंका कुशल परेरा ३३ रनमा अविजित रहे ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स १० ओभरमा ४४ रनमा अल आउट भएको थियो ।

नेदरल्यान्ड्सका कोलिन एक्रमनले सर्वाधिक ११ रन बनाए । श्रीलंका स्पिनर वानिन्दु हसरंगा र लाहिरू कुमाराले समान ३ विकेट लिए ।

समूह ‘ए’ बाट श्रीलंका ३ खेलमा ३ मानै जित सहित ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । नामिबिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ सुपर १२ मा स्थान पक्का गरेको हो ।

आयरल्यान्ड ३ खेलमा २ मा हार र १ मा जित सहित तेस्रो र नेदरल्यान्ड्स ३ खेलमा ३ मानै हारका साथ अंक बिहिन हुँदै बाहिरिए । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, समूह बी को उपविजेता बंगलादेश र समूह ए को विजेता श्रीलंका छन् ।

सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, पहिलो चरणको समूह बी को विजेता स्कटल्यान्ड र समूह ए को उपविजेता नामिबिया छन् ।

सुपर १२ बाट दुवै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । शनिबार सुपर १२ समूह ए का खेल हुनेछन् । शनिबार पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा इंग्ल्यान्ड र वेस्टइन्डिज खेल्नेछन् ।

आइतबार सुपर १२ को समूह बीका खेलहरू हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश तथा दोस्रो खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

Back to top