×

प्रदेश–२ का जिल्लामा डुबेर मृत्यु हुनेको संख्या बढ्दो छ । हरेक दिन कुनै न कुनै जिल्लामा कसैको डुबेर मृत्यु भइरहेको हुन्छ । तर मृतक परिवारलाई बाहेक अन्य कसैलाई पनि यसप्रति मतलब देखिएको छैन । स्थानीय, प्रदेश र संघीय सरकारले समेत यसतर्फ चासो देखाएका छैनन् ।

प्रदेश सरकार यो घटनालाई न्यूनीकरण गर्न अभिभावकको सक्रिय भूमिका खोजिरहेको छ । सरकारको नेतृत्व गर्ने मुख्यमन्त्री लालबाबु राउत यसमा अभिभावक चनाखो हुनुपर्ने बताउँछन् । डुबेर भइरहेको मृत्यु, यसको रोकथाम, प्रदेश सरकारको जिम्मेवारी लगायतका विषयमा मुख्यमन्त्री राउतसँग गरिएको कुराकानीको सारसंक्षेप :

प्रदेशमा डुबेर मृत्यु हुनेको संख्या ह्वात्तै बढिरहेको छ नि ?

मान्छेको हेलचेक्र्याइँ र परिवारबाट ध्यान नदिंदा यस्ता घटना भइरहेका छन् । यो गम्भीर समस्या हो । आफ्ना छोराछोरी कहाँ गइरहेका छन् ? कोसँग खेलिरहेका छन् ? भन्नेतर्फ ध्यान दिउँ । त्यो नै यो समस्याको समाधान हो ।

हामी तत्काल ऐन बनाउँछौं र काम शुरू गर्छौं । दैवीप्रकोप घटना न्यूनीकरण गर्न जसरी संघले प्राधिकरण बनाएको छ, हामी यहाँ त्यस्तै निकाय बनाउँछौं । यो निकाय बनेपछि डुबेर मृत्यु हुने घटना न्यूनीकरण गर्न पनि सहयोग पुग्छ ।

यस्ता घटना बढ्दै जानुमा अभिभावक मात्रै जिम्मेवार छन् त ?

अभिभावकले आफ्ना बच्चाहरू पढिरहेका छन्, छैनन्, कहाँ गइरहेका छन्, समयमा आइरहेका छन् कि छैनन् ? भन्नेतर्फ गम्भीर बन्नु जरूरी छ । घाँस काट्न जानेहरूको पनि डुबेर मृत्यु भइरहेको देखिन्छ । यसमा सचेतनाको आवश्यकता छ । चेतना बढाउनु जरूरी छ । अभिभावकले बच्चाहरूप्रति ध्यान दिए धेरै हदसम्म यो समस्या समाधान हुन्छ ।

डुबेर मृत्यु भइरहेको घटनामा प्रदेश सरकारले चाहिं चासो दिएको देखिंदैन नि ?

दिइरहेको छ । यसमा सरकार पछिपरेको छैन । आवश्यक सहयोग पनि गरिरहेको छ ।

यो मानवीय क्षति कसरी न्यूनीकरण गर्न सकिन्छ ?

चेतनाको अभावले यो भएको हो । गाउँघरमा स्वीमिङ पुल हुँदैन । यहाँ पोखरी, नदीमा खेल्ने र पौडिने गर्छन् । म पनि गाउँकै मान्छे हुँ । मैले पनि पौडिन नदी, खोलामै सिकेको हुँ । गाउँघरमा प्रायःजसो मान्छे पौडी खेल्नु सामान्य मान्छन् । तर, कहाँ पौडिन सकिन्छ, कहाँ सकिन्न भन्नेमा ध्यान दिनु जरूरी छ । बालबालिकाप्रति ध्यान दिए यो समस्या न्यूनीकरण गर्न सकिन्छ ।

तपाईंले पोखरी, नदीनालामा डुबेको कुरा गर्नुभयो । तर, सडकमै खनिएको खाल्डोमा पनि डुबेर मृत्यु भइरहेको छ नि ?

होइन कहाँ खनिएको छ त्यस्तो खाल्डाखुल्डी ? र, त्यहाँ यस्तो घटना हुन्छ ? पोखरी, नदीनालामै डुबेर मृत्यु भइरहेको छ नि !

प्रदेश–२ का केही जिल्लामा त सडकको खाल्डोमै डुबेर एकै परिवारका दुई जनाको ज्यान गएको छ त ?

यो दुर्भाग्य हो । त्यही मैले भने नि चेतनाको कमी भयो । यसमा परिवारले नै ध्यान दिनुपर्छ । अभिभावक सक्रिय भएर नै यो घटना रोक्न सकिन्छ ।

प्रदेश सरकारले यसको न्यूनीकरणमा केही विशेष योजना बनाउँछ कि ?

के योजना ल्याउने भन्नु न ? यो चेतनाको अभाव हो । यदि मेरो छोरा छ भने कहाँ गइरहेको छ; नदी, खोलामा गइरहेको छ कि ? भनेर हेर्नुपर्छ । अहिले त बच्चाहरूलाई झन् केयर गर्नुपर्ने अवस्था छ । कुलतमा फँस्ने सम्भावना धेरै छ । रोडमा गए भने सवारी दुर्घटनामा पर्न सक्छन् । नदी, खोलामा गए भने डुब्ने खतरा हुन्छ ।

भन्नाले अभिभावक नै सक्रिय हुनुपर्‍यो ? 

हो, अभिभावकले नै बढी ध्यान दिनुपर्ने हुन्छ ।

अनि, तपाईंले पनि डुबेर मृत्यु हुने घटनालाई समस्या भनिसक्नुभएको छ । यो समस्या न्यूनीकरण गर्न प्रदेश सरकारले चाहिं के गर्छ त ?

प्रदेश सरकार यस मामिलामा गम्भीर छ । हामी तत्काल ऐन बनाउँछौं र काम शुरू गर्छौं । दैवीप्रकोप घटना न्यूनीकरण गर्न जसरी संघले प्राधिकरण बनाएको छ, हामी यहाँ त्यस्तै निकाय बनाउँछौं । यो प्रदेशको विशेषता नै वर्षामा बाढी, डुबान र कटान, जाडोको शीतलहर, गर्मीमा आगलागी जस्ता घटना भइरहन्छन् । यो निकाय बनेपछि डुबेर मृत्यु हुने घटना न्यूनीकरण गर्न पनि सहयोग पुग्छ ।- अनलाईन खबरबाट

Back to top