×

वीरगञ्ज २६ असोज । शनिबार बेलुकी जनकपुरधाम आएका अध्यक्ष उपेन्द्र यादवले आइतबार प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीचको संगठन समायोजन गर्दैछन् । अध्यक्ष यादव संगठन समायोजनका कार्यक्रममा सरिक हुँदै गर्दा जसपाका मधेस प्रदेश समितिका मुख्यसचिव शम्भु झाले सामाजिक सञ्जाल मार्फत राजीनामा घोषणा गरेका छन् ।

प्रदेश २ मा अध्यक्ष उपेन्द्र यादवप्रति उनका नेता कार्यकर्ताहरु आक्रोशित रहेको बेलामा पार्टी छाड्नेहरुको संख्या बढ्दै गएका छन् भने कतिपय ठाउँमा उनको पुत्ला दहनसमेत गरिएको छ । संघीय सरकारदेखि प्रदेश सरकारका कतिपय विषयलाई लिएर पार्टीभित्र पछिल्लो समय असन्तुष्टि बढ्दो छ । जसपाका केन्द्रीय नेता उमेश साहले दुई दिनपूर्व सामाजिक सञ्जालमार्फत नै पार्टी परित्यागको घोषणा गरे ।

त्यसको लगत्तै आइतबार जसपा प्रदेश २ का मुख्यसचिव शम्भु झाले समेत पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले आजैको मितिबाट पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको उनले जनाएका छन् ।

सामाजिक सञ्जालमा शम्भु झाले लेखेका छन्, ‘म जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिना देखि काम गरेँ । मेरो योग्यता र क्षमताभन्दा ठुलो पद मैले पाएँ । म आफ्नो कार्यकालका प्रदेश अध्यक्ष आदरणीय रेणु यादव र आदरणीय विजय यादवप्रति सदैव ऋणी रहिरहने छु । म बाँचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा जादिनँ । यस पार्टीमा काम गर्ने मेरो योग्यता र क्षमता नभएकोले आजको मितिदेखि म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको कुरा आदरणीय राष्ट्रिय अध्यक्ष तथा प्रदेश अध्यक्षलाई यसैमार्फत जानकारी गराउन चाहन्छु ।’

संघीय सरकारमा जसपाले सांसद प्रमोद साह र सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनीहरु समेत जसपा अध्यक्ष उपेन्द्र यादवसँग रुष्ट देखिएका छन् । सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका समर्थकहरुले पर्साको वीरगञ्जस्थित जसपाको कार्यालयमा तोडफोड गर्नुका साथै अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेका थिए ।

Back to top