×

माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिप फुटबलमा फाइनलमा पुग्ने सम्भावना चारवटै देशको यथावत छ। नेपाल र बंगलादेशसँगै आयोजक माल्दिभ्स, सात पटकको च्याम्पियन भारतको पनि सम्भावना उत्तिकै छ।

बलियो सम्भावना बनाएको नेपालका लागि आइतबारको नतिजाले अन्य देशको सम्भावनालाई पनि उजागर गरेको छ। चारवटै खेल खेलिसकेको श्रीलंका भने भारतसँगको खेलमा बराबरी खेले पनि अन्य खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ।

आइतबार नेपाल भारतसँग तथा श्रीलंका माल्दिभ्ससँग समान १–० गोल अन्तरले पराजित भएका छन्। पाँच देश सहभागी प्रतियोगितामा ३–३ खेल खेलिसक्दा अन्तिम खेल सबैका लागि फाइनलमा पुग्ने निर्णायक खेल बनेका छन्।

बुधबार नेपालले बंगलादेशसँग तथा भारतले माल्दिभ्ससँग खेल्दैछ। माल्दिभ्स र नेपालले समान ६–६ अंक जोडे पनि गोल अन्तरका आधारमा माल्दिभ्स पहिलो स्थानमा छ। माल्दिभ्सले तीन गोल गरेर एक गोल खाएको छ। नेपालले भने चार गोल गरेर तीन गोल खाएको छ।

भारत पाँच अंकसहित तेस्रो स्थानमा रहँदा बंगलादेश चार अंकसहित चौथो स्थानमा छ। बुधबारको खेलमा नेपालले बंगलादेशलाई हराएमा नेपाल सहजै फाइनलमा पुग्नेछ भने बंगलादेशले नेपाललाई पाखा लगाएमा बंगाली टिमको पनि अन्तिम दुईको यात्रा बन्ने छ। तर‚ यो खेलमा बराबरी भए नेपाल सात अंकसहित फाइनलमा पुग्दा बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ। तसर्थ‚ यो खेलमा बंगलादेशका लागि जितको विकल्प छैन। तर‚ नेपाललाई बराबरीले पनि फाइनलमा पुर्‍याउनेछ।

यस्तै‚ अर्को खेलमा भारतका लागि फाइनलमा पुग्न माल्दिभ्सलाई हराउनै पर्ने बाध्यता छ। बराबरीले पनि उसको यात्रा कठिन हुनेछ। माल्दिभ्सका लागि बराबरी मात्रै पनि फाइनलका लागि पर्याप्त हुनेछ। अघिल्लो खेलमा नेपालले बंगलादेशलाई हराएको खण्डमा र माल्दिभ्सविरुद्धको खेलमा भारत विजयी भए अन्तिम दुईमा पुग्ने सम्भावना हुनसक्छ। तुलनात्मक रुपमा नेपाल र माल्दिभ्स कम दबाबमा रहँदा भारत र बंगलादेश निकै दबाबमा रहनेछन्।

नेपालले माल्दिभ्सलाई १–० ले तथा श्रीलंकालाई ३–२ ले पाखा लगाएको छ भने भारतसँग १ गोलले पराजित भएको छ। पहिलो खेलमा नेपालसँग हारेको माल्दिभ्सले त्यसपछि दुबै खेल जितेको छ। उसले बंगलादेशलाई २–० ले तथा श्रीलंकालाई १–० ले हराएको छ।

भारतले लगातार दुई खेलमा बराबरी खेलेपछि अर्को चरणमा जाने सम्भावना कठिन बनेको थियो। उसले बंगलादेशसँग १–१ को तथा श्रीलंकासँग गोलरहित बराबरी खेलेका छन्। नेपाललाई हराएपछि भारतको अर्को चरणको बाटो उघारिएको हो। बंगलादेशले श्रीलंकालाई १–० ले हराउँदा भारतसँग १–१ गोलको बराबरीमा रोकिएको हो। तेस्रो खेलमा बंगाली टिम माल्दिभ्ससँग २–० गोलले पराजित भएको हो।

Back to top