वीरगञ्ज, २३ असोज । राउण्ड टेबल नेपाल अन्तर्गत वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल ८ द्वारा आयोजित २ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शुक्रबारबाट रौतहटको इस्नाथ नगरपालिकास्थित डुमारिया स्वास्थ्य चौकीमा आयोजित दुई दिने शिविरमा विभिन्न विषयका विषेशज्ञ चिकित्सकहरूले परामर्श दिनुका साथै निशुल्क औषधी र चस्मासमेत वितरण गरेका थिए ।
इस्नाथ नगरपालिकाका नगर प्रमुख सन्तोष महेताको विशेष पहलमा राउण्ड टेबलले आयोजना गरेको शिविरमा १२ सय भन्दा बढी व्यक्ति लाभ्वाम्वित भएको जनाइएको छ ।
शिविरमा नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. सरोज रोशन दास, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रीति यादव, नेत्र रोग विशेषज्ञ डा. बी. डी. चौरसिया, नारायणी वयोधा अस्पतालकी प्रसूति विभाग प्रमुख सविना रेग्मी, नारायणी आई केयरका दृष्टि विषेशज्ञ राजेश यादव र प्रभात चौरसियालगायतका स्वास्थ्यकर्मीहरुले परामर्श दिएको वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबलका अध्यक्ष दिपल खन्नाले बताए ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामिण भेगका जनतालाई सहज, सुलभ र गुणस्तरीय सेवा दिने उद्देश्यले आयोजित शिविर सफलतापूर्वक सम्पन्न भएको बताउँदै खन्नाले खुसी व्यक्त गरे ।
शिविरमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शेख इसराजुल, हेल्थ पोष्ट इन्चार्ज विजय शंकर यादव, स्वास्थ्यकर्मी अरुण महेता, धुर्व श्रीवास्तव, सुनिल साह, विवेक गुप्ता, प्रीति साह, समाजसेवी सुधाकर महेता, मनोज महेता लगायतले सहयोग गरेका थिए ।
वीरगञ्ज फ्रेण्डस् राउण्ड टेबल ८ ले यस अघि विभिन्न समाजिक क्रियाकलापहरु सक्रिय रूपमा सहभागिता जनाउँदै आएको छ ।