×

वीरगञ्ज २३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले आन्दोलनको मधेस आन्दोलनको अगुवाइ गर्ने वीरगञ्ज फेरि ठगिएको बताएका छन् ।

मन्त्रिपरिषद् विस्तारमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नालाई मात्रै च्यापेका बेला पर्साका सांसद यादवले यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

जानधार र योगदानको कदर गर्न नेतृत्वबाट गम्भीर चुक भएको उनको भनाइ छ । मधेश आन्दोलनको उद्दगम स्थल बीरगञ्ज भएको र विद्रोहको बिगुल फुक्ने तथा आन्दोलनको आधिबेरी ल्याउने स्थानलाई नजर अन्दाज र किनारा गरिएको भन्दै सांसद यादवले आक्रोश पोखेका छन् ।

नाका जाम गरेर सरकारलाई दिने कडा दवाब होस् या, अधिकारका निम्ति सहादतका लागि छाति फैलाउने हौसला बीरगञ्ज (पर्सा) ले सदैव राख्दै आएको स्मरण पनि उपेन्द्रलाई गराएका छन् ।

मधेशी जनअधिकार फोरम नेपाल स्थापनादेखि आफ्नो बलिदान र योगदान दिँदै आएको वीरगञ्ज आज फेरि ठगिएको र यसले पर्सेली जनता दुखित र आक्रोशित भएको भन्दै सांसद यादवले उपेन्द्रको ध्यानाकर्षण गराएका छन् ।

‘हाम्रो पार्टीका अध्यक्षज्यूले मन्त्रिमण्डलमा समावेश हुनेहरुको नाम छनोट गरिरहँदा सम्पूर्ण पर्सेली जनताको नजर उनीमाथि थियो । यसपटक पक्कै पनि पर्सा र बीरगञ्जलाई न्याय र सम्मान गरिने छ भन्ने विश्वास थियो, योगदानको प्रतिफल दिइनेछ भन्ने विश्वास थियो । तर प्रतिफल उलटो भयो,’ उनले भनेका छन् ।

आफू जनताको सेवक भएको र सधै सेवामा लागि रहने उल्लेख गर्दै यादवले मुल्यांकन गर्ने जिम्मा फेरि पनि न्यायप्रेमी जनतालाई नै छोड्ने बताए । साथै यस परिस्थितीमा धैर्यता नगुमाउन शुभचिन्तक र पार्टीका नेता कार्यकर्ताहरुमा उनले अनुरोध गरेका छन् ।

उपेन्द्र यादवले ठगे पनि पार्टीका तर्फबाट प्रदीपले परिपक्वता देखाएका छन् । यसैबीच उपेन्द्रले वीरगञ्जलाई ठगेपछि वीरगञ्जका जनता सडकमा उत्रेका छन् ।

नेता कार्यकर्तासहित जनताले जसपाको झण्डा जलाउने तथा उपेन्द्र यादवको पुत्ला जलाउँदै नाराबाजी गरेका छन् ।


 

Back to top