×

लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन् । बरु, माग पूरा नभए सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यद्धपी उनले सरकारमा नजाने भनेर आफूहरु किरिया–कसम भने नखाएको पनि स्पष्ट पारे । प्रस्तुत छ नेता कर्णसँग गरेको कुराकानीको सम्पादित अंश :

लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा नजाने भयो, होईन ?

हामी सरकारमा जाने कुनै कुरा अहिलेसम्म भएको छैन् ।

तर, शेरबहादुर देउवासँगको भेटमा तपाईंहरुले हामी सरकारमा जान्छौं भन्नुभएको थियो त ?

मैले शेरबहादुर देउवासँग किन भेट्छु ?

महन्थ ठाकुर र राजेन्द्र महतोले भेट्नुभएको थियो नि ?

उहाँहरुले पनि सरकारमा सहभागी हुनको लागि प्रधानमन्त्रीसँग भेट्नु भएको होइन् ।

त्यसोभए तपाईंहरु सरकारमा नजाने ?

हामीले कुनै कसम खाएका छैनौं । अहिले गठबन्धनमै भागबन्डा पुगेको छैन् । त्यसमा हामीले किन भीड गर्न जाने ?

तपाईंहरुलाई मन्त्री चाहिएको छैन् त ?

अहिलेलाई छैन् ।

तपाईंको पार्टी कमजोर भएको हो ? उपेन्द्र यादवले महन्थ ठाकुरको पार्टी अब मधेशमा समाप्त हुन्छ भन्नुभएको छ ?

मन्त्रीले मात्रै पार्टी चल्ने हो भने त कति मन्त्रीहरु गए नि, अब यो कुरा अरुले भनेको भए अलिकति सुहाउँथ्यो स्वयम उपेन्द्रजीले भन्छन् भने कस्तो कस्तो लाग्छ । उपेन्द्रजी पहिला आफुलाई ठिक गर्नुहोस । मन्त्री हुँदैमा र बजार लाग्दैमा ठुलो पार्टी हुने होइन् ।

तपाईंहरु मन्त्री बन्नको लागी मरिहत्ते गर्ने मान्छे हो नि त ?

को गर्छ मरिहत्ते ?

तपाईंहरुले बिगतमा सत्ताको लागि जे पनि गर्नुभयो नि होइन् ?

बिल्कुल गलत कुरा हो । हामीले सरकारको लागि मरिहत्ते गरेको होइन् । तपाईँलाई थाहा होला ओलीजीको सरकारको पालामा पटक–पटक बोलाउदा पनि हामी गएका होइनौं । अन्तिममा हाम्रो मागहरु पुरा गर्ने भनेपछि मात्र गयौं । त्यसकारण यो अभियोग हामीमाथि लगाउनु गलत हो । हामी यस किसिमका काम कहिल्यैपनि गर्दैनौं ।

मधेशका जनताको समस्या समाधान गर्नको लागि तपाईंहरुले पहल गर्नुहुन्छ ?

हामी गरिरहेका छौं । हामी जनतामा गइरहेका छौं । जनताका कुराहरु सुनिरहेका छौं । त्यो निराकरण गराउने प्रयास गरिरहेका छौं । त्यो त हामीले गर्छौ नि ।

तपाईहरुले सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ कि हुँदैन ?

होइन, हामीले त्योबेला समर्थन गर्दा पनि मन्त्रिमण्डललाई समर्थन गर्छौ भनेका होइनौं । हाम्रो मागहरु पुरा गर अनि हामी समर्थन गर्छौ भनेका हौं । मागको हकमा अहिलेसम्म सरकार नै बनेको थिएन । यति लामो समयसम्म सरकार नबनेको यो नेपालको इतिहासमा नौलो कुरा हो । अब सरकार बनेको छ । अब हाम्रा मागहरु के हुन्छ हामीले हेर्छौ ।

माग पूरा भएन भने के गर्नुहुन्छ ?

माग पूरा भएन भने त हामीले किन समर्थन गर्छौ र ? हामीले मागको लागि पो समर्थन गरेका हौं ।

माग पूरा भएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुन्छ ?

हो, हामीले समर्थन फिर्ता लिन्छौ ।

उसो भए सरकारलाई दिएको समर्थन फिर्ता लिने हो ?

हामीले समर्थन मात्र दिएको हो । यदि माग पुरा भएन भने समर्थन फिर्ता लिन्छौं ।

मधेसमा तपाईहरुको पार्टीको पक्षमा अहिले जनसमर्थन छैन् भन्छन् ?

विल्कुल गलत कुरा हो । हाम्रो पार्टी कहीँ पनि समायोजन भएको थिएन । त्यसकारणले पार्टी जहाँ थियो त्यहीँ रहेको छ । अहिले हामीले मौका पाएसम्म आफ्ना नेता, कार्यकर्ताहरुसँग भेट गर्ने काम गरिरहेका छौं । हामी जिल्ला–जिल्लामा हिडिँरहेका छौं । हामीमा केही वृद्धि भएको छ । उपेन्द्रजीको पार्टीबाट केही मान्छेहरु आएका छन् । हाम्रोबाट मन्त्रीको लोभमा जानेबाहेक अरु कोही पनि गएको छैन् ।

अहिलेको अवस्थामा तपाईंहरु केपी शर्मा ओलीसँग मिलेर चुनावी गठबन्धन बनाउनुहुन्छ ?

यस किसीमको कुरा अहिलेसम्म भएको छैन् ।  साभार : ReportersNepal

Back to top