बीरगञ्ज १६ असोज । मुलुकै ठूलो नाकामध्येको एक पर्सा अन्तर्गत बीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै वीरगञ्जका व्यापारीमा खुसी छाएको छ ।
कोभिड–१९ को असहज स्थितिका कारण अत्यावश्यकबाहेक अन्य भारतीय सवारी साधनले लामो समयदेखि नेपाल प्रवेश पाएका थिएनन् । यही असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारी साधनले प्रवेश पाउने निर्णय कार्यान्वयनमा आएसँगै वीरगञ्जका व्यापारीमा खुसी छाएको हो ।
भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत दुवै देशमा व्यवसाय क्षेत्र फस्टाउनेमा आशा पलाएको नेपाल भारत सहयोग मंचको केन्द्रीय अध्यक्ष एवम् बरिष्ठ उधोगी समाजसेवी अशोक कुमार बैधले बताए । कोभिड–१९ का कारण लामो समयदेखि नेपाल र भारत दुवै देशमा व्यावसायिक कारोबार प्रभावित बनेका थिए ।
रक्सौल नाकाबाट भारतीय निजी सवारी साधनले नेपालमा आवागमन पाएपछि दुवै देशका व्यवसायी थप उत्साही बनेको होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तले बताए ।