×

वीरगञ्ज, १५ असोज ।  वीरगञ्ज रक्सौल सिमानाकाबाट भारतीय निजी सवारी साधनको आवागमन आजदेखि सुचारु भएको छ । वीरगञ्जको मुख्य प्रवेशद्वार शंकराचार्य गेटमा औपचारिक कार्यक्रमका बिच सिमानाकाबाट भारतीय निजी सवारीको आवागमन सुचारु भएको हो ।

भारतबाट प्रवेश गर्ने पहिलो सवारीका चालकसहित सवारीमा सवार भएकाहरुलाई फूलमाला लगाएर स्वागत गरिएको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरी पन्तले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले पैदल यात्रुहरुको आवागमन यसअघि पनि जारी रहेकोमा आजदेखि निजी सवारीको पनि आवागमन हुनुले दुई देशबिचको सम्बन्धमा अँझै आत्मियता हुने धारणा राखे

। मित्र राष्ट्र भारत र नेपालबिचको रोटी बेटीको सम्बन्धका कारण पनि निजी सवारीको आवागमन सुचारु हुनुपर्ने माग आज पूरा भएको  सरावगीको भनाई छ । लामो समयसम्म सिमानाका बन्द हुँदा वीरगञ्ज र रक्सौलसहितका बासिन्दालाई आवतजावतमा असहजता भइरहेको हुँदा अब उक्त समस्या हटेको सरावगीले बताए । उनले भने, ‘नेपाल भारतको सम्बन्धका कारण पनि आगामी दिनमा नाका बन्द गर्नुभन्दा पहिला संघिय सरकारले सम्बन्ध बिग्रिन नदिने विकल्पको बारेमा सोच्नुपर्छ ।’

निजी सवारीको आवागमन सुचारु गराउन होटल तथा पर्यटन व्यवसायी संघ पर्साले गरेको पहलको पनि मेयर सरावगीले सह्राना गरे । नाका खुलेसँगै भारतीय पर्यटकहरु भित्रिने र थला परेको होटल एवम् पर्यटन व्यवसायले विस्तारै गति लिने संघका अध्यक्ष पन्त बताउँछन् ।

अध्यक्ष पन्तका अनुसार सिमाना भएर आउने यात्रुहरुको एन्टिजेन परीक्षण गरेर आउने व्यवस्था गरिएको छ । कार्यक्रममा होटल व्यवसायीहरु, वीरगञ्जका सञ्चारकर्मीहरु, रक्सौलका सञ्चारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो । 

Back to top