×

वीरगञ्ज, १२ असोज ।  वीरगञ्ज पब्लिक कलेज (बिपिसी) ले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम अँझै जारी छ । कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अध्ययनमा उत्प्रेरित गर्ने अभिप्रायले आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आज २ जनालाई सम्मान गरिएको छ । 

कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर दिपक शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान दिएको भन्दै वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई र बिपिसी कलेजमै पढेर स्थापित भएका हिमाल आईरनका निर्देशक फिरोज आलमलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । 

सम्मान ग्रहणपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै युवा अभियानता समेत रहेका चौगाईले शिक्षण सिकाईको क्रममा सामाजिक कार्यलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । राष्ट्रका मेरुदण्ड भनिने युवाहरु नै परिवर्तनका संवाहक भएको बताउँदै चौर्गाइले समयको विकाससँगै आफुलाई पनि परिवर्तन र परिस्कृत गर्नुपर्ने बताए । वीरगञ्जका लागि पानी र जवानी खर्चिएको बताउँदै चौगाईले विकास निर्माणमा भइरहेको ढिलासुस्ती र अनियमितताको विरुद्धमा खबरदारी गर्ने जिम्मेवारी पनि युवाकै भएको बताए । 

कार्यक्रममा नेपा युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले सरकारी जागिर मात्रै नभएर अरुलाई पनि रोजगार दिने अभिप्रायले व्यवसाय सञ्चालन गरेर पनि सफल हुन सक्ने धारणा राखे । कार्यक्रममा एन आई सी बैंककी पुजा खेतान, ज्ेसिस वीरगञ्जका पूर्व अध्यक्ष सन्तोष खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
 

Back to top