×

वीरगञ्ज, १२ असोज । वीरगञ्जको बसपार्कमा प्रदर्शन गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । यात्रुवाहक सवारीलाई वीरगञ्जको बसपार्कदेखि प्रतिमा चोकसम्मको दूरीमा १० मिनेटमा पुग्नुपर्ने समय निर्धारण गरेको छ ।

उक्त समय अपुग भएको भन्दै यातायात व्यवसायीहरुले आज बिहानै सडकमा बसहरु खडा गरेर विरोध जनाएका छन् । टाईम कार्डको समय अपुग भएको भन्दै असन्तुष्टि व्यक्त गरेर उनीहरुले सडकमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा प्रहरीले चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । यातायात व्यवासायीकै सहमतिमा टाईमकार्ड लागू गरिएको भएपनि अहिले आएर केही यातायात व्यवसायीहरुले समय अपुग भएको भन्दै विरोध गर्दै प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरि अहिले जिल्ला प्रहरी कार्यालयमा उनिहरुलाई राखिएको उनले बताए ।

वीरगञ्ज महानगरपालिकाले सवारी चापको व्यावस्थापन गर्नका लागि यातायात व्यावसायी, बस टर्मिनल संचालनको ठेक्का पाएको ठेकेदार र महानगरपालिका लगायत सरोकारवालाहरु बोलाएको बैठकमा बसपार्कदेखि भानुचोक प्रतिमा चोकसम्मको दूरीमा १० मिनेटमा पुग्नुपर्ने समय निर्धाण गर्ने निर्णय यातायात व्यवसायीहरुकै सहमतिमा गरेको थियो । तर, उक्त निर्णयमा आफूहरुको असहमति रहेको भन्दै यातायात व्यवासायीहरुले विरोध जनाएका हुन् ।
 

Back to top