×

वीरगञ्ज १२ असोज । जसपाबाट फूटेर नयाँ दल बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश २ को प्रदेशसभा संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित हुनु भएको छ ।

संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने प्रयास गरिएपनि सहमति हुन नसकेपछि सोमबार अबेर राती मतदान भएको थियो ।  मतदानबाट सोनल दलको नेतामा निर्वाचित हुनु भएको हो । प्रदेश २ को प्रदेशसभामा १६ जना प्रदेश सभा सदस्यहरु रहेको लोसपामा संसदीय दलको  निर्वाचनमा सोनल ९ मत ल्याउनु भएको छ ।

उहाँका प्रतिस्पर्धी प्रदेश सांसद उपेन्द्र महतोले ६ मत ल्याउनु भएको छ । एक मत बदर भएको छ । बारा क्षेत्र ४ को प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित सोनल यसअघि तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ को पनि संसदीय दलका नेता हुनुहुन्थ्यो ।

दलको नेता छनौट गर्न असोज १० गते आइतबार दिउँसोदेखि जनकपुरको सिटी स्टार होटेलमा अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो, शरत सिंह भण्डारी, अनिल झासहितको शीर्ष नेताहरुको बैठक चलेको थियो । सर्वसहमतिबाट चयन हुन नसकेपछि बैठकले पारित गरेको संसदीय दलको विधान अनुसार निर्वाचनमा गएको हो । 

Back to top