×

वीरगञ्ज, ११ असोज ।  नेपाल भारतको सिमानामा भारतीय निजी सवारीको आवागमन खोल्नुपर्ने विषयले चर्चा पाइरहेको समयमा नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । 

मुख्य प्रवेशद्वार शंकराचार्य गेटमा सभापति द्विवेदीसँगै वीरगञ्ज भन्सार कार्यालयका प्रमुख, सशस्त्र प्रहरी, जनपद प्रहरी सहित सरोकारवालाको सहभागितामा सिमा नाकाको स्थलगत अनुगमन गरिएको नेपाली कांग्रेस पर्साका उपसभापति प्रकाश उपाध्यायले बताए । 

अनुगमनको क्रममा मन्त्रिपरिषद्ले निर्णय गरेपनि स्पष्ट पत्राचारको अभावमा समस्या सृजना भएको हुँदा उक्त समस्याको समाधान गर्न नेपाली काङ्ग्रेस पर्साले पहल गर्ने सभापति द्विवेदीले प्रतिबद्धता जनाएको उपाध्यायको भनाई छ । 

नेपाली काङ्ग्रेसकै सभापति प्रधानमन्त्री हुँदा समेत सिमा नाका खोल्न पर्साको नेपाली काङ्ग्रेस चुकेको विपक्षी दलका प्रतिनीधिहरुले टिप्पणी गरेका छन् । अनुगमनको बहानामा नाका क्षेत्रको रमिता हेरेर फर्किएको समेत नेपाली काङ्ग्रेस पर्सालाई आरोप लागेको छ । 

‘सिमानामा गएर केही समय विरोध गर्नुका साथै धर्ना बसेको भए पनि पहल गरेका छन् भनेर बुझ्न सकिन्थ्यो तर भन्सार प्रमुखसँग भेटेर चियाको चुस्की लिएर रमिता हेर्दै फर्किएको नाम नबताउने शर्तमा अनुगमन टोलीमै सहभागी एकजनाले बताएका छन् । 

यस विषयमा नेपाली काङ्ग्रेस पर्साका सभापति द्विवेदीलाई सम्पर्क गर्न खोज्न फोन उठेन । अनुगमन टोलीमा प्रदेश नम्ब २ का प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली काङ्ग्रेस पर्साका उपसभापतिद्वय प्रकाश उपाध्याय, दिना गुप्ता, सचिव श्याम पटेल, लगायतको उपस्थिति रहेको थियो ।


 

Back to top