×

वीरगञ्ज, ११ असोज ।  मन्त्री परिषद्को बैठकले सबै सिमा नाका खुला गर्ने निर्णय गरेको ६ दिन बितिसक्दा पनि अँझै कार्यन्वयन हुन सकेको छैन । सरकारले सिमाना खोल्यो भनेर मक्ख परेका वीरगञ्जसहित देशैभरका होटल व्यवसायीहरु निर्णयको कार्यन्वयन नहुँदा निराश बनेका छन् । 

होटल तथा पर्यटन व्यवसायी संघ पर्साले लामो समयसम्मको बन्दाबन्दीका कारण होटल क्षेत्रमा परेको प्रभावको विषयमा प्रधानमन्त्री शेर बहादुर देउवालाई डकुमेन्ट्री देखाउनुका साथै सिमा खोलेर भारतीय निजी सवारीको आवागमन सुचारु गराउन माग गरेपछि असोज ५ गतेको मन्त्रीपरिषद्को बैठकले सबै सिमा नाका खोल्ने निर्णय गरेको थियो । यद्यपी ५ गते निर्णय गरेपछि ११ गते विश्व पर्यटन दिवसको अवसरमा भारतीय पर्यटकको स्वागत गर्ने होटल व्यवसायीहरुको सपना सपनामै सिमित बनेको छ । 

मन्त्रीपरिषद्ले नै निर्णय गर्दा समेत जिल्ला प्रशासन कार्यालय पर्साले अँझै परिपत्र आएको छैन भन्नु अत्यन्तै लज्जास्पद विषय भएको होटल व्यवसायी एवम् नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) प्रदेश नम्बर २ का सल्लाहकार मोहन प्रधानले बताए । 

वीरगञ्जको मकालु होटलका सञ्चालक प्रधानले आक्रोशित मिश्रित भावमा यात्रा डेलीसँग भने, ‘यस्तो दुरावस्था कहाँको छ ? सरकारले निर्णय गर्छ, प्रशासनले पत्र आएको छैन भन्छ । सम्बन्धित निकाय र सरोकारवालाको समन्वय अभावका कारण यस्तो अवस्था आएको हो ।’ 

अहिलेसम्म पर्यटन मन्त्री नियुक्ति नगर्नुको पछाडी सरकारले नै वेवास्ता गरेको प्रधानले बताए । कोरोना भाइरसका कारण थला परेको पर्यटन व्यवसाय र होटल व्यवसायलाई गतिशिल बनाउनेतर्फ सरकार गम्भिर नरहेको प्रधानको आरोप छ । 
 

Back to top