वीरगञ्ज । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैँडाटारका रोहिणी प्रसाद घोरासैनीको सुनियोजित ढंगले हत्या गरेको खुलेको छ । कालापनी सामुदायिक बनमा झुण्डिएर मृत्यु भएको भनिएको घटनाको अनुसन्धानको क्रममा सुनियोजित हत्या रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्यामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको छ । गैँडाटारका स्थाई बासिन्दा हाल चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कप्तान टोल बस्ने सहदेव भनिने डोल प्रसाद बोलखेले व्यक्तिगत रिसीवीका कारण ३ लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
हत्याका मुख्य योजनाकार सहदेव हाल फरार छन् । हत्यामा संलग्न गैँडाटारकै ४५ वर्षीय प्रह्लाद फुयाँल, सिन्धुलीको पिपलमाडी वडा नम्बर ९ घर भई हाल पर्साको पर्सागडी नगरपालका वडा नम्बर ३ सृजना टोल बस्ने २४ वर्षीय सूर्य बहादुर भण्डारीलाई प्रहरीले सोमवार सार्वजनिक गरेको हो ।
व्यक्तिगत रिसईवी साध्नको लागि सहदेवले सोही टोलका अर्का अभियुक्त प्रह्लाद फुयाँलसँग रोहिणी प्रसाद घोरासैनीलाई मार्नका लागि ३ महिना अगाडी ३ लाख दिएर हत्याको योजना बनाएको खुलेको छ ।
४ जना मिलेर हत्या गरि रुखमा झुन्डाएर आत्महत्या देखाउने प्रयास गरेर उम्कने योजना बनाएपनि प्रहरीले यथार्थ पत्ता लगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।
फरार रहेका सहदेवको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान भईरहेको घिमिरेको भनाई छ ।