×

वीरगञ्ज १० असोज । प्रदेश २ को पर्यटकीय सम्भाव्यता दोहनका लागि सरकार र निजीक्षेत्र बीच सहकार्यमा जोड दिइएको छ । नेपाली युवा उद्यमी फोरम वीरगञ्ज र पर्सा राष्ट्रिय निकुञ्जले शनिवार बाराको आधाभारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो । 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पर्सा राष्ट्रिय निकुञ्जको पर्यापर्यटकीय आकर्षण प्रदेशकै आर्थिक उन्नतिको आधार बन्न सक्ने बताए । प्रदेशको पर्यटनमा पर्सा निकुञ्जको विशिष्ट महत्व रहेको पनि मुख्यमन्त्री राउतले उल्लेख गरे ।

२ नम्बर प्रदेश आसपासका क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न सकिने उनले बताए । ‘२ नम्बर प्रदेशका आठै जिल्लाको सीमाना भारतसित जोडिएकाले भारतको बिहार र उत्तर प्रदेशका पर्यटकलाई आकर्षित गर्न सकेमात्र पनि स्थानीय पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान पुग्न सक्दछ,’ उनले भने । 

पर्यटन विकासका कार्यक्रममा प्रदेश सरकारले सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री राउतले योजनाहरूको कार्यान्वयनमा केही नीतिगत समस्या भए त्यसलाई समाधान गरिनुपर्ने पनि उल्लेख गरे । 

कार्यक्रममा युवा उद्यमी फोरमका अध्यक्ष अनुप अग्रवालले पर्सा निकुञ्जमा पर्यटकीय गतिबिधि बढाउन पूर्वाधारमा लगानीको खाँचो आंैल्याए । सरकारले नीतिगत र कानूनी प्रक्रियामा सहजीकरण गरिदिए पूर्वाधार लगानीमा निजीक्षेत्र तत्पर रहेको पनि अग्रवालले स्पष्ट पारे । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले निकुञ्जका ३७ प्रकारका वन्यजन्तु र ५०० प्रजातिका चराचुरुंगीले पर्यटकलाई आकर्षित गर्न सक्ने दाबी गरे । केही वर्षअघि मात्र निकुञ्ज घोषणा भएकाले पनि यो निकुञ्जमा पर्यटकले त्यस्ता जंगली जनावर र चराचुरुंगी सजिलै देख्न सक्ने साहले बताए ।

Back to top