×

वीरगञ्ज, ८ असोज ।   वीरगञ्ज भन्सार र राजस्व अनुसन्धान कार्यालय पथलैयाले बुझ्न अस्विकार गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेको ९ लाख ६० हजार मूल्य बराबरको खसी धनीलाई नै बुझाएको छ । 

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चौकबाट चेकजाँचको क्रममा ना.१४ च १९१४ नम्बरको बोलेरो पिकअपबाट ५९ वटा खसी नियन्त्रणमा लिएको थियो । भेटेनरी प्रमाण पत्र बारा जिल्लाको नाममा चौपाय लिएपनि बिलबिजक व्यक्तिको नाममा पाइएपछि प्रहरीले चालक सिन्धुलीको फिक्कल वडा नम्बर १ निवासी २२ वर्षीय पुर्ण बहादुर सुनुवार र बोलेरोसहित खसी नियन्त्रणमा लिएको थियो । 

नियन्त्रीत खसीलाई वीरगञ्ज भन्सार कार्यालयको मुद्धा शाखामा बुझाउन जाँदा कार्यालयका कर्मचारी झलक बहादुर श्रेष्ठले खसीको अनलाईन बिल भएकाले बुझ्न अस्विकार गरेका थिए । पुनः राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउन जाँदा पशु चौपाय बुझ्न नपाउने भनी फिर्ता पठाएपछि पर्सा प्रहरी खसी धनीलाई नै बुझाउन बाध्य भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । 

यता भन्सारकै कर्मचारीले बुझ्न अस्विकार गरेपछि कर्मचारीकै मिलेमतोमा तस्करी भएको भन्ने आशंका पलाएको छ । 
 

Back to top