×

वीरगन्ज  ८ असोज ।महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पर्यटन विकासका लागि पोखरा र वीरगन्जबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

गण्डकी प्रदेशको निमन्त्रणामा प्रदेश २ बाट गएको मुख्यमन्त्री सहितको प्रतिनिधिमण्डलसँगको अन्तकृयामा बोल्दै नगर प्रमुख सरावगीले पर्यटकीय राजधानी पोखरा र आर्थिक राजधानी वीरगन्जको सहकार्यले नेपालको एउटा नमूना आर्थिक विकास गर्न सकिने सम्भावना रहेकोले पोखरा र वीरगन्जबीचको सम्बन्ध पनि नमूना हुनुपर्ने बताउनुभयो ।

उहाँले भारतीय पर्यटकहरु वीरगन्ज हुदै पोरासम्म पुग्ने भएकोले गन्तव्यको प्रवेशद्वारमा नै पोखराको झल्को पाउनेगरी पर्यटकीय आकर्षणहरुको जानकारी गराउने व्यावस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वीरगन्जको विकासमा पोखराको पनि साथ र सहयोग आवश्यक रहेको बताउदै वीरगन्जको पहिचान भएमात्रै पोखराको पनि पहिचान हुने बताउनुभयो ।

प्रवेशद्वारमा नै नकारात्मक सन्देश गयो भने पर्यटकहरु आउन नसक्ने भन्दै वीरगन्ज र पोखराप्रतिको नकारात्मक सन्देशहर फैलिन नदिन पोखरा र वीरगन्जबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी सहित उद्योगी व्यवसायी र होटल तथा पर्यटन व्यवसायीहरु बुद्ध एयरको उडानबाट पोखरा गएका हुन् । दुई प्रदेशमा भएका पर्यटकीय गन्तव्य पहिचान र पर्यटन प्रवद्र्धनका लागि भ्रमणको आयोजना गरिएको हो । 

Back to top