×

वीरगञ्ज, ७ असोज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले अहिले चर्चा बटुलीरहेको छ । महाधिवेशनअन्र्तगत यतिबेला वडादेखि जिल्लाहरुको अधिवेशनले मुलुक गर्माएको छ । 


युवाहरुलाई अवसर नदिने पार्टीको रुपमा परिचीत नेपाली कांग्रेसको परिचय दैलेख जिल्लामा १९ वर्षीय किशोरी वडा सभापति बनेपछि फेरिएको छ ।  दैलेखकै अनुकरण गरेर अहिले अन्य स्थानमा पनि युवाहरुलाई उम्मेदवारीको रुपमा घोषणा गरिएको छ । 


नेपाली कांग्रेस पर्साको वीरगञ्ज महानगरपालिका सभापतिमा ७ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।  महानगर सभापतिमा ७ जनाको उम्मेदवारी पर्नुले सबैको ध्यान केन्द्रित भएको छ । 


नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले पनि महानगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । गजेन्द्र पटेल, मनोहर साह, विजय सिँह, कालु सिँह, मडिण्द्रलाल नेपाली र जितेन्द्र पुरुष ढकालले महानगर सभापतिमा उम्मेदवारी दिने तयारी धमाधम अगाडी बढाएका छन् । 


नेपाल पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष हुँदै प्रदेश नम्बर २ को अध्यक्ष समेत भइसकेका दिपेन्द्र चौहानको सम्भावना बलियो देखिएको टिका टिप्पणी बजारमा हुने गरेको छ । 


त्यसैगरी कांग्रेसको पर्सा जिल्ला सभापतिमा भने हालसम्म वर्तमान सभापतिसहित ३ जना आकाङ्क्षी छन् । वर्तमान सभापति अजय द्विवेदी, जनार्दन सिँह क्षेत्री र बरिष्ठ नेता रामनारायण प्रसाद कुर्मीले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।


जिल्लामा आफुखुशी उम्मेदवारी घोषणा भएपनि अहिलेसम्म केन्द्रको सर्कुलर र परिपत्र नआएको हुँदा अधिवेशनको मिती तय नभएको पार्टीका पर्सा सभापति द्विवेदीले बताए । अहिले जिल्लामा पार्टीभित्र कुनै पनि विवाद नभएको र तयारी भइरहेको उनको भनाई छ । केन्द्रबाट परिपत्र आउने बित्तिकै अधिवेशन हुने द्विवेदीले बताए ।
 

Back to top