वीरगञ्ज ६ असोज । पर्साका हरेक पालिकाको वडा वडामै कर्मचारी खटाएर मतदाता नामावली संकलन गर्न नेपाली कांग्रेस पर्साले माग गरेको छ।
जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन कार्य सुस्त भएको तथा गाउँबाट आएका हजाराैँ व्यक्ति नामावली दर्ता नै नगराई घर फर्किनुपरेकाले पालिकाको वडामै गएर मतदाता नामावली संकलन गर्न कांग्रेस पर्साले माग गरेको हो।
वडामै कर्मचारी खटाएर मतदाता नामावली संकलन गर्न माग गर्दै बुधबार कांग्रेस पर्साले प्रमुख जिल्ला अधिकारीमार्फत निर्वाचन आयोगलाई ज्ञापन पत्र पठाएको छ।
कांग्रेस पर्साका सभापति अजय द्विवेदीको नेतृत्वमा गएका कांग्रेस पर्साका नेताले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फत निर्वाचन आयोगलाई ज्ञापन पत्र पठाएको हो।
‘यस जिल्लामा मतदाता नामावली दर्ता गर्न दिनहँु हजारौं संख्यामा पालिकाका वडाबाट मतदाता वीरगञ्ज आउने गरेको तर न्यून संख्यामा नामावली दर्ता हुने भएको कारण प्रायः मतदाता रित्तै घर फर्कनुपरेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘जसकारण यस जिल्लाका मतदाताले साह्रै कष्ट भोग्नुपरेको छ।’
नेपाल सरकारको काम देशको प्रत्येक नागरिकलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्नु हो तर त्यसको ठिक विपरीत हजारौं संख्यामा पालिकाका वडा वडाबाट आएका नागरिक वीरगञ्ज आएर पनि बिना नाम दर्ता गराई आफ्नो घर फर्कन बाध्य भइरहेको समस्याप्रति नेपाली कांग्रेस पर्साको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा जनाइएको छ।
उक्त समस्या समाधानका लागि निर्वाचन आयोगले पर्सा जिल्लाको प्रत्येक पालिकाको वडा—वडामै टोली खटाई मतदाता नामावली दर्ता गर्ने कार्य यथाशीघ्र सुचारु गर्न कांग्रेस पर्साले माग गरेको छ।