×

वीरगञ्ज ५ असोज । नेपाल सरकारले वीरगञ्ज-रक्सौल लगायत देशभरका सम्पूर्ण सिमानाकाहरु खोल्ने निर्णय गरेको छ ।

कोरोनाभाइरस महामारीका कारण लगभग डेढ वर्षदेखि बन्द रहेका देशभरका सम्पूर्ण सिमानाकाहरु सरकारले खोल्ने निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले सिमानाका खोलेसँगै भारतीय नम्बरका सवारीसाधनहरु नेपाल प्रवेश गर्न सक्ने अनुमान गरिएको छ । यसअघि नेपाली सवारीसाधनहरु भारत प्रवेश गरेपनि भारतीय सवारीसाधनहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो ।

भारतीय सवारीसाधन नेपाल प्रवेश गर्न नपाउँदा यहाँका पर्यटन व्यवसायी मार्कामा परेका थिए । पर्साका पर्यटन तथा होटल व्यवसायीहरुले सोमबार मात्रै प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर सिमानाका सहज बनाउन आग्रह गरेका थिए ।

व्यवसायीहरुको आग्रहलाई मान्दै प्रधानमन्त्रि देउवाले सिमानाकाहरु सहज रुपमा खोल्ने निर्णय गरेको नेपाली कांग्रेस पर्साका नेता अनिल रुंगटाले बताए ।  

यस्तै, सरकारले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ । अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाँ आदेश जारी गरेको हो ।

उक्त आदेशबाट प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको छ । समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन् । बैठकले कोभिड–१९ सम्बन्धी विधेयक, औषधि ऐन, ०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसद्‌मा पेश गर्न स्वीकृति दिएको छ ।

बैठकले संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको समेत टुंगो लगाएको छ ।

Back to top