×

वीरगञ्ज ४ असोज । सानेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आज (सोमवार) देखि नयाँ नोट उपलब्ध गराउने भएको छ ।

दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र सोमवारदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । 

काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ । 

नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना  गर्न अनुरोध गरिएको छ । केन्द्रीय बैंकले रू. १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कुल रुपमा केन्द्रीय बैंकले रू. ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ । 

नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैंकको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ ओटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ ।

Back to top