×

प्रकाशकुमार उपाध्याय

पहिलो गाककसमै ढुङ्गा भने झै नेपाली कांग्रेसको १४ औ महाधिवेशनको पहिलो तहको वडा अधिवेशनमा नै पार्टि सभापति एवं प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुरामा भएको घटना पार्टिको लागि राम्रो संकेत होईन ।

लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । तर प्रतिस्पर्धाको नाममा आफ्नै पार्टीभित्र पावर र पोजिसनको कुनै पक्षबाट पनि दुरुपयोग गरी प्राविधिक रूपमा जीत हार अर्थात कब्जा गर्ने नीतिले सङ्गठन बलियो हुँदैन ।

नेतृत्व त सर्वस्वीकार्य हुनु पर्छ । त्यसका लागि प्रतिस्पर्धामा पराजित हुनेले पनि विजयी साथीलाई सहर्ष बधाई दिने अवस्थाको स्वस्थ प्रतिस्पर्धात्मक निर्वाचनको वातावरण बन्नु पर्छ ।

कतिपय जिल्लामा अझैसम्म क्रियासिल सदस्यता विवाद यथावत नै छ । कतै कसैको नाम काटिनु त कतै जथाभाबीरूपमा थपिने काम भैरहनु ले ‘जिसका लाठी उसका भैस’ शैली देखिएको छ । हामी निकट भविष्यमा हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनको संघारमा उभिएका छौँ ।

हेक्का रहोस, आजको हाम्रो अस्वस्थ प्रतिस्पर्धा र कलह कतै द्वापर युगमा यदुवंशीहरू आफैँमा लडेर सिद्धिए झै पार्टीलाई ठूलो नोक्सान हुने कारण नबनोस । आज कांग्रेस प्रति नेपाली जनताको विश्वास बढीरहेको अवस्था छ । यस बेला पार्टिभित्र अधिकतम सहमति, सहकार्य र एकताको खाँचो छ ।

तर त्यसको ठिक विपरीत पार्टीभित्रको छताछुल्ल विवादको अवस्थालाई जनताले कसरी मूल्याङ्कन गर्ने हुन् ?

देश विदेशमा रहनु भएका लोकतन्त्रवादी शुभेच्छु, शुभचिन्तकहरूमा कस्तो सन्देश प्रवाह हुने हो ? हामीले के सन्देश दिन खोजिरहेका हौँ ।

यदी यस्तै अवस्था यथावत राख्ने र सहमति, सहकार्य र एकताको वातावरण नबनाउने हो भने हामी आफू आफूमै लडेर समाप्त हुने दिन नआउला भन्ने छैन । समयमै चेतना भया ! उपाध्याय नेपाली कांग्रेस पर्साका उपसभापति हुन् ।

Back to top