वीरगञ्ज, २ असोज । प्रदेश २ सरकारले यस वर्ष पनि संविधान दिवस नमनाउने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन भएर बस्ने उनले बताए ।
संविधानमा अहिले पनि संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, केहि मौलिक हकअधिकार हुँदा हुँदै पनि संविधानमा रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने राउतको भनाई छ ।
प्रत्येक वर्षझैं प्रदेशका कर्मचारीले भने यसपटक पनि संविधान दिवसको अवसरमा केही कार्यक्रम गर्ने भएका छन् ।
मुख्य सचिव हरिप्रसाद मैनालीका अनुसार संविधान दिवसका दिन आइतबार बिहान जानकी मन्दिर सरसफाइ गर्ने कार्यक्रम छ । यसबाहेक सरकारी कार्यालयहरुको पनि सरसफाइ गर्ने कार्यक्रम निर्धारण गरिएको उनले बताए ।
संविधान दिवसको अवसर पारेर तीन दिनसम्म सरकारी कार्यालयहरुमा दीपावली मनाउने कार्यक्रमसमेत तय गरिएको मुख्य सचिव मैनालीले बताए । प्रदेश २ सरकारले विगत ३ वर्षदेखि संविधान दिवस मनाएको छैन ।