×

वीरगञ्ज, ३० भदौ ।  जिल्ला प्रशासन कार्यालय बाराले चर्काे आवाजमा डिजे बजाउनेलाई कारवाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै असोज १ गतेदेखि डिजे साउण्डको प्रयोगमा प्रतिबन्ध लगाएको जानकारी गराएको छ । 

बाराको जितपुर सिमरा, कलैया लगायतका विभिन्न स्थानमा हुने राजनीतिक, धार्मीक, सांस्कृतिक कार्यक्रमहरुमा सभा, समारोह, उत्सवहरुमा चर्काे आवाजमा डिजे बजाउँदा ध्वनी प्रदुषण हुनुका साथै विशेष गरी विद्यार्थीहरुको पठनपाठनमा असर पर्ने र यसले शान्ति सुरक्षा र सामाजिक सद्भावमा समेत खलल पुग्ने भएकाले डिजे बजाउन प्रतिबन्ध गर्ने निर्णय गरिएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । 

स्थानीय प्रशासन ऐन २०२८ अन्तर्गत जारी गरिएको आदेशविपरीत कसैले अटेर गरि कुनै पनि स्थानमा डिजे बजाएको पाइएमा डिजे साउण्ड सिस्टिम जफत गरि सन्चालकलाई पक्राउ गरि प्रचलित ऐन कानुन अनुसार कारवाही गर्ने चेतावनी पनि सूचनामार्फत दिइएको छ । 
 

Back to top