वीरगञ्ज, ३० भदौ । सामुदायिक संस्था सानो पाइलाले सुरक्षित स्पर्श र असुरक्षित स्पर्शको बारेमा बलबालिकालाई सचेत गराएको छ ।
‘सचेत’ नामक अभियान दिएर वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही स्थित महानन्द प्रसाद उपाध्याय माद्यामिक विद्यालयमा अध्ययनरत बालबालिकालाई ५७ औँ राष्ट्रिय बालदिवसको अवसरमा सचेत बनाइएको हो ।
सुरक्षित र असुरक्षित स्पर्श बीचको भिन्नता र मानव जीवनमा यसले पार्न सक्ने प्रभावका विषयमा सहभागिहरुलाई संस्थाकी स्विटी चौरसियाले प्रशिक्षण दिएकी थिईन् । विभिन्न माध्यमबाट हुने यौनजन्य हिंसाका घटनाहरु बढ्दै गईरहेका कारण यसको पहिचान र यसबाट जोगिने उपायहरुका बारे विद्यार्थीहरुलाई जानकारी गराउनुपर्ने आवश्यक्ता औल्याउँदै सचेत कार्यक्रम गरिएको संस्थाका विवेक कर्णले जानकारी दिए ।
वर्तमान पाठ्यक्रममा सुरक्षित स्पर्श र असुरक्षित स्पर्शका बारे यथेष्ट ज्ञान नहुँदा पनि विद्यार्थीहरु अनाहकमा यौनजन्य हिंसाको सिकार भईरहेको हुँदा यसको बारेमा सबै विद्यार्थी सँगै अभिभावकहरु पनि सचेत हुनुपर्ने कर्णको भनाई छ ।
विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा करिब ५५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । संस्थाले बाल दिवसको अवसरमा शुरु गरेको सचेत कार्यक्रम ५२ सातामा ५२ वटा विद्यालयमा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।