×

वीरगञ्ज, ३० भदौ ।  भारतीय निजी कम्पनी हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहबाट नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीको सेवा शुरू गरेको छ ।

कोलकातास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्य दुत ईश्वरराज पौडेलकाअनुसार हिन्द टर्मिनलको रेल ९० ओटा कन्टेनर लिएर वीरगञ्ज सुक्खा बन्दरगाहका लागि हिँडेको छ । सोमवार हल्दिया बन्दरगाहबाट हिँडेको रेल आजसम्म वीरगञ्ज आइपुगेको वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली लजिस्टिकले बताएको छ ।

नेपालमा रेलवेमार्फत मालसामान ढुवानीमा निजी सेवाप्रदायकको प्रवेशले यस्तो ढुवानीमा एकाधिकार अन्त्य भएको उपमहावाणिज्यदूत तर्कराज भट्टको भनाई छ । नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिएको थियो । ३ महीनाअघि मात्रै सम्झौता संशोधन भएको थियो ।

संशोधित सम्झौताले भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको छ । त्यसअघि भारतका कोलकाता, हल्दिया र विशाखापटनम् बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करको एकाधिकार थियो ।

एकाधिकारका कारण रेल भाडामा मनोमानी देखिएको भन्दै व्यवसायीहरूले रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए । भारतमा १५ ओटा निजी कम्पनीले रेलमार्पmत ढुवानी सेवा दिइरहेका छन् । तीमध्ये कोन्करसहित अन्य चारओटा कम्पनीले नेपालतर्फको ढुवानीमा रुचि देखाएका छन् ।

रेलव सेवा सम्झौताले भारतका निजी रेल सेवा प्रदायकलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ता बताउँछन् । यसबाट नेपालको ढुवानीमा प्रतिस्पर्धी हुने गुप्ताको भनाई छ । ढुवानीलाई थप प्रतिस्पर्धी बनाउन नेपालको निजीक्षेत्रलाई समेत ढुवानीमा सहभागी गराइनुपर्ने गुप्ताको माग छ । 

Back to top