×

वीरगञ्ज २९ भदौ । यातायात व्यवस्था कार्यालय वीरगञ्जले सवारी चालक अनुमति पत्रका लागि मंगलबार आजबाट पुनः परीक्षा सुरु गरेको छ ।

दोस्रो लहरको कोभिड महामारीका कारण गएको बैशाख १४ गते लिखित परीक्षा लिएसँगै बन्द भएको सवारी चालक अनुमती पत्रको परीक्षा ४ महिनापछि मंगलबारबाट फेरि सुरु भएको हो ।

मंगलबार आज पहिलो दिन लिखित परीक्षा लिइएको यातायात व्यवस्था कार्यालय वीरगञ्जका लाइसेन्स शाखा प्रमुख सुशिल साहले जानकारी दिए ।

गएको बैशाख १२, १३, १४ र १५ गते बायोमेट्रिक गरी रसिद काटेकाहरुको मंगलबार लिखित परीक्षा सुरु भएको हो । लिखित परीक्षा विहान ७ बजेदेखि ११ बजेसम्म चल्ने पनि प्रमुख साहले जानकारी दिए । लिखित र प्रयोगात्मक परीक्षा वीरगञ्ज महानगरपालिका वडा नं. २३ प्रसौनि विर्ता स्थित ट्रायल सेन्टरमा हुने पनि कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

मंगलबार लिएको लिखित परीक्षाको नतिजा साँझसम्ममा आउने र उतीर्ण हुने भोलि बुधबार प्रयोगात्मक परीक्षामा सहभागि हुन पाउनेछन् ।

यातायात व्यवस्था विभागले भदौ १० गते नै आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सवारी चालक अनुमति पत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न परिपत्र गरेको थियो । सोही अनुरुप सबै तयारी पुरा गरेर मंगलबारबाट परीक्षा अगाडि बढाएको प्रमुख साहले बताए ।

कोभिडका बेला बन्द भएको समयमा परीक्षाको मिति परेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर परीक्षा अघि बढाइएको उनले बताए । नयाँ फारम भर्ने काम अहिले सुरु नभएकाले पहिले फारम भरेकाहरुको लिखित र प्रयोगात्मक परीक्षा अघि बढाइएको भन्दै उनले विभागको परिपत्रपछि मात्रै नयाँ फारम खुल्ने पनि जानकारी दिए ।

काठमाण्डौको चाबेल र सानोभर्‍याङबाट भने गएको २० गतेबाटै ट्रायल र लिखित परीक्षा लिन सुरु भइसकेको छ ।

 

Back to top