×

वीरगञ्ज २९ भदौ । सरकारले आधा दर्जन ठूला उद्योगको प्रभावमा परेर साना उद्योग बन्द गर्ने प्रपञ्च गरेको भन्दै नेपाल स्टील रोलिङ मिल्स एसोसिएसनले छडको बिक्री सोमबार बन्द गरेको छ।

स्पञ्ज आइरन वा पत्रु फलाम पगालेर बिलेट उत्पादन गर्ने ठूला उद्योगीहरुको प्रभावमा परेर अर्थ मन्त्री जनाद्र्धन शर्माले बिलेटको आयातमा भन्सार र अन्तःशुल्क बढाएको भन्दै साना उद्योगका संचालकहरु आन्दोलनमा उत्रिएका हुन् ।

देशभर संचालनमा रहेका ३० वटा उद्योगमध्ये २४ वटा उद्योगले भारत तथा तेश्रो मुलुकबाट बिलेट आयात गरेर त्यसबाट फलामको डण्डी उत्पादन गर्दै आएका छन् ।

अर्थमन्त्री शर्माले हालै सार्वजनिक गरेको प्रतिस्थापन विधेयकले स्पञ्ज आइरनको आयातमा लाग्दै आएको भन्सार महशुल शुन्यमा झारेको छ । तर स्पञ्ज प्रशोधन गरेर उत्पादन गरिएको बिलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार महशुल र दुई हजार ५ सय रुपैयाँ प्रति मेट्रिक टन अन्तःशुल्क थपेको छ ।

नेपाल स्टील रोलिङ मिल्स एसोसिएसनले नारायणी इस्पात, जगदम्बा, अम्बे, पञ्चकन्या, श्री स्टिललगायतका ठूला उद्योगलाई मात्र संरक्षण प्रदान गर्ने उद्देश्यले सरकारले संशोधित बजेटमा भन्सार महशुल र अन्तःशुल्क हेरफेर गरेको आरोप लगाएको छ। आफैंले बिलेट उत्पादन गर्ने बाहेक अन्य उद्योगले भारतबाट बिलेट आयात गर्ने र बिलेट पगालेर विभिन्न साइजको डण्डी उत्पादन गर्दै आएका छन् ।

अहिलेको नयाँ भन्सार महशुलका कारण बिलेट उत्पादन गर्न स्पञ्ज आइरन आयात गर्ने उद्योगलाई मूल्य प्रतिस्पर्धा गर्न सहज हुने तर सिधै बिलेट आयात गरेर डण्डी उत्पादन गर्ने उद्योगको उत्पादन लागत महँगो पर्ने भएको हो ।

यस्तै, कच्चा पदार्थमा शून्य प्रतिशत भन्सार महशुल हुनु भनेको विश्व व्यापार संगठनको नीति विपरीत हुने भन्दै एसासिएसनले स्पन्ज आइरन र बिलेट दुबै कच्चा पदार्थ भएको र आइरन ओरबाट निर्मित हुने भएपनि स्पन्ज आइरनमा शून्य प्रतिशत भन्सारदर र बिलेटमा ४.७५ प्रतिशत भन्सार दर हुुनु गलत भएको जनाएको छ ।

साथै २४ वटा उद्योगहरुले बिलेटबाट डण्डी उत्पादन गर्दा प्रति केजी ५ देखि ६ रुपैयाँसम्म महँगो हुने र उपभोक्तालाई प्रत्यक्ष मर्का पर्ने भन्दै एसोसिएसनले प्राइम बिलेट देशमा उत्पादन नहुने हुँदा विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको पनि बताएको छ ।

हाल नेपालमा उत्पादित फलामे छड अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको भएका कारण यसको माग ठूला आयोजना र राष्ट्रिय गौरवका आयोजनाहरुमा पनि रहेको भन्दै एसोसिएसनले स्पन्ज आइरनबाट फलामे छड उत्पादन गर्दा गुणस्तरीय नहुने पनि जनाएको छ ।

गुणस्तरीय फलामे छड उत्पादन गर्न आयात गरिएको प्राइम बिलेट नै चाहिने भन्दै एसोसिएसनले नेपाल भूकम्पीय जोखिमको देश भएको हँुदा पनि गुणस्तरीय निर्माणको लागि गुणस्तरीय छडको विकल्प नभएको सरकारलाई स्मरण गराएको छ । पत्रु पगालेर डण्डी उत्पादन गर्दा पर्यावरणमा असर पर्ने र यस्ता उद्योगलाई चीनमा बन्द र भारतमा पनि कडा निगरानीमा राखिएको छ । “स्पन्ज आइरनबाट डण्डी बनाउँदा बिजुली खपत र रोजगारी त बढ्छ तर ९० देखि ९५ प्रतिशत रोजगारी पाउने वैदेशिक नागरिक मात्र हुन्छन ।” एसोसिएसनले विज्ञप्तिमा जनाएको छ।

 

 

Back to top