×

वीरगञ्ज, २८ भदौ ।  जिल्ला प्रहरी कार्यालय पर्साले फरार रहेका अपराधिक गिरोहका नाइकेलाई पक्राउ गरेको छ । 

वीरगञ्जको विभिन्न स्थानमा सुतली बम पड्काई स्थानीयलाई त्रसित गर्नुका साथै उद्योगी एवम् व्यवसायीलाई धम्क्याएर चन्दा असुली गर्ने गिरोहका नाईके फुलहसन अन्सारी उर्फ विवेक सिंहलाई प्रहरीले वीरगञ्जको रामगढवाबाट पक्राउ गरेको हो । 

अभियुक्त सहितको गिरोहले २०७६ साउन २४ गते वीरगंजको बिर्ता बजार, २८ गते घण्टाघर नजिकैको मिना बजारमा बम विस्फोट गराएको थियो । प्रहरीले बम विस्फोट तथा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बस्ने इनुस अन्सारी, जौवाद अन्सारी, सद्दाम अन्सारीलाई यसअघि नै पक्राउ गरीसकेको छ ।

पर्सा जिल्ला अदालतको आदेशअनुसार उनीहरुले विस्फोटक पदार्थ, खरखजाना तथा सङ्गठित अपराध अन्तरगतको मुद्दामा २ बर्ष ६ महिना कैद र २५ हजार जरिवानाको फैसला भई वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गरी रहेका छन् । घटना पश्चात् फरार रहेका आपराधिक गिरोहका मुख्य योजनाकार फुलहसन अन्सारीलाई भने गोप्य सूचनाको आधारमा पक्राउ गर्न प्रहरी सफल भएको छ । 

फरार भएका अभियुक्त अन्सारी भारतको मुजफ्फरपुरमा आफ्नो नाम र पहिचान ढाटेर अङ्कित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई उतै बस्दै आएका थिए । 
२०६५ पुस ७ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ बस्ने राजेश क्याललाई गोली हानी हत्या गरेको अभियोगमा हतियारसहित पक्राउ परेका अभियुक्त अन्सारीलाई अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको थियो ।

कैद भुक्तान गरिरहेको अवस्थामा २०७४ असोज ८ गते विजयादशमीको अवसरमा ५६ प्रतिशत बाँकी कैद मिनाहा भई वीरगञ्ज कारागारबाट छुटेका उनले फेरी पनि अपराधिक क्रियाकलाप नरोको अनुसन्धानमा खुलेको छ ।  

अभियुक्तलाई विस्फोटक पदार्थ खरखजाना सम्बन्धी कसुर तथा सङ्गठित अपराध अभियोगमा कारबाही अगाडी बढाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 


 

Back to top