वीरगञ्ज, २५ भदौ । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा स्थानीय युवाहरुको सक्रियतामा बिग्रिएको सडक मर्मत गरिएको छ ।
सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ अवराहा पंचगावादेखि सखुई जमुनियासम्मको जिर्ण सडक भावि गाउँपालिका अध्यक्षका उम्मेदवार नेकपा एमालेका युवा नेता यशवन्त यादवको पहलमा मर्मत गरिएको छ ।
विगत लामो समयदेखि सडक जीर्ण हुँदा पैदल यात्रु तथा सवारी साधनहरुको आवतजावतमा असहजता भइरहेको थियो । उक्त असहज परिस्थितीलाई स्थानीय सरकार र निर्वाचित जनप्रतिनीधिको नजरमा नपरेपछि युवा नेता यादवसहित स्थानीय नेताहरु ईनरदेव महतो थारु, भुपदेव रायथ ारु, रामनाथ दास थारु, उमेश चौधरी लगायतको सहयागोमा मर्मत गरिएको हो ।
निर्वाचित जनप्रतिनीधिहरुको कार्यअवधि लगभग अन्तिम चरणमा आउँदा पनि गाउँपालिकाको हरेक वडामा सडक विस्तार नहुनु, भएका सडक पनि जिर्ण हुनुको पछाडी ढिलासुस्ती, अनियमितता र लापरवाही भएको युवा नेता यादव बताउँछन् ।
५ वर्षको कार्यकालमा विकासको मूल फुटाउनुका साथै गाउँपालिकाको मुहार परिवर्तन हुने आश गरेपनि उक्त आशा निराशामा परिणत भएको यादवको भनाई छ ।
