×

काठमाडौं । प्रतिस्थापन विधेयक मार्फत सरकारले पूर्ववर्ती केपी ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको आकार १५ अर्बभन्दा बढीले घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बनाएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसदको नाराबाजी र अबरोधका बीच अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड बजेटमा केही घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । 

कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१.४२ प्रतिशत, पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३.१६ प्रतिशत अर्थात र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत बजेट छुट्याइएको छ ।

कोरोना भ्याक्सिन किन्न १० प्रतिशत बजेट कटौती

सरकारले कोरोना भ्याक्सिन किन्न चालू खर्च तर्फका विभिन्न शीर्षकमा सरकारले १० प्रतिशत बजेट कटौती गरेको छ ।  अर्थमन्त्री ‘प्रभाकर’ ले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत चालू खर्चका विभिन्न शीर्षकमा न्यूनतम १० प्रतिशतले बजेट कटौती हुने घोषणा गरेका हुन् । 

बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च र विविध कार्यक्रम खर्च शीर्षकमा १० प्रतिशत बजेट कटौती भएको छ ।
यसरी कटौती गर्दा तत्काल ५ अर्ब रुपैयाँ बचत हुने देखिएको अर्थमन्त्रीले दाबी गरेका छन् । यो रकमबाट कोभिड–१० विरुद्धको खोप खरिद गर्ने सरकारले जनाएको छ ।

क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार

सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता विरामीका लागि मासिक खर्च उपलब्ध गराउने जानकारी दिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि नै ०७४ मा यस्ता विरामीका लागि मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो । त्यसपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले उक्त निर्णय खारेज गरेको थियो ।

‘पढ्दै कमाउँदै कार्यक्रम’

 सरकारले विद्यार्थीहरुलाई लक्षित गरेर ‘पढ्दै कमाउँदै कार्यक्रम’ ल्याएको छ । शुक्रबार अर्थमन्त्री शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गरिने उल्लेख छ । शुरुवातमा यो कार्यक्रम प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी लक्षित हुनेछ ।

गुणस्तरीय शिक्षा, प्रावधिक शिक्षा, पूर्वाधार शिक्षा, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवं विद्यार्थी संख्या समेतका आधारमा बालशिक्षादेखि माध्यमिक शिक्षासम्मको नक्सांकन तयार गरी कार्यान्वयन गरिने बजेट अध्यादेशमा उल्लेख छ ।

भौतिक पूर्वाधार, जनशक्ति र प्रविधिको विकास गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विस्तृत योजना बनाई कार्यानवयन गर्ने भनिएको छ ।

 

Back to top