×

वीरगञ्ज, २५ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थीक वर्ष २०७८/७९ को हालसम्मको अवधिमा १ लाख ६४ हजार ५ सय रुपैया राजस्व संकलन गरेको छ ।

चालु आ.व. को श्रावण १ गतेदेखि भदौ २४ गतेसम्मको अवधिमा २ सय ८८ जनालाई कारवाही गरेर कार्यालयले उक्त राजस्व संकलन गरेको हो ।

ट्राफिक नियमको उलंघन गर्ने २ सय ८८ जना चालु आ.व.को हालसम्मको अवधिमा कारवाहीमा परेका हुन् । लाइसेन्सबिना सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमता भन्दा बढी यात्रु सवार, जिकज्याक गरेर चलाउने, तिव्र गतिमा चलाउनेहरुकै कारण सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीले बताए ।

प्रमुख प्रहरी निरीक्षक कार्कीका अनुसार गत आ.व.मा पर्सा जिल्लामा जम्मा १ सय १४ वटा सवारी दुर्घटना भएकोमा १ सय १ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । ति दुर्घटनामा परी २८ जनाको मृत्यु हुनुका साथै ४८ जना गम्भिर घाइते भएका थिए भने १ सय २ जना सामान्य घाइते भएको जिल्ल ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समयमा विशेष गरी युवाहरुले तिव्र गतिमा हाँक्ने, मादक पदार्थ सेवन गरेर चलाउनाले दुर्घटना बढेको तथ्यांकले देखाउँछ । सोही दुर्घटनालाई कम गर्ने अभिप्रायले वीरगञ्जको आदर्शनगर, लक्ष्मणवा, इदगाह, रेल्वे रोड, मालपोत, राधेमाई, सिरसिया, तिलावे पुल, नगवा, घडिअर्वा, मालपोत चोक लगायतका स्थानमा नियमित चेकजाँच भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए । उनका अनुसार बेला बेलामा विभिन्न चोकहरुमा सरप्राईज चेकिंग समेत भइरहेको छ ।

सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना र चेकिंगमा कडाई गर्नु बाहेक अरु कुनै विकल्प नभएको कार्की बताउँछन् । उनी भन्छन्, ‘हामीले जनचेतनाका लागि विभिन्न पर्चा पम्पलेट वितरण गर्छाै, ट्राफिक नियमको बारेमा लेखिएका होर्डींग बोर्ड तथा ब्यानरहरु लगाउँछौ ।

अँझै पनि कोभिड १९ को महामारी कम नभएको अवस्थामा सवारी साधनमा सवार यात्रुहरुलाई ‘तपाईको मास्क खोई ?’ भन्दै सहज बनाउने काम पनि भइरहेको उनले भने । ‘सबैलाई सम्झाउँछौ, तर पनि लापरवाही कमी भएको छैन ।’ जनचेतनाका लागि चेक पोस्टहरुमा ‘चालकसँग १ मिनेट’ नामक अभियानअन्र्तगत सम्झाउने र बुझाउने काम भइरहेको कार्कीको कथन छ । ‘हेल्मेट लगाएर मात्रै हुँदैन ।

फिता पनि बाँध्नुपर्छ । नम्बर प्लेट स्पष्टसँग देखिने हुनुपर्छ । जसका कारण कतै दुर्घटना भएर चालक बोल्न सक्ने अवस्थामा नभए नम्बर प्लेटकै आधारमा उसको पहिचान गर्न सहज हुन्छ’, कार्कीले भने । प्रभावकारी चेकिंगबाट सवारी दुर्घटनाका साथै अपराधिक क्रियाकलाप पनि कम हुने कार्कीको विश्वास छ । अहिले चाडवाडको समयमा विभिन्न अपराधिक क्रियाकलाप हुनुका साथै हातहतियारको ओसारपसार जस्ता कार्य हुने भएकाले पनि चेकिंगमा कडाई गरिएको कार्कीले बताए ।

 

 

 

Back to top