×

वीरगञ्ज, २३ भदौ ।  वीरगञ्जका राजेन्द्र साह तुराहाले अदालतसहित सम्बन्धित निकायको आदेशको अवज्ञा गरेका छन् ।  

जिल्ला अदालत, पुनरावेदन अदालत हुँदै सर्वाेच्च अदालतबाटसमेत मुद्धाको फैसला  वीरगञ्जको रानिघाट निवासी जवाहरप्रसाद कलवारकी श्रीमती मधुदेवी कलवारिनको पक्षमा आदेश जारी गर्दा पनि तुराहाले दुःख दिने नियतले तहगत रुपमा मुद्धा दर्ता गरी आदेशको अवज्ञा गरेका हुन् । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ रेल्वे स्कुलदेखि १ सय मिटर पश्चिममा रहेको २१ धुर जग्गा सम्बन्धी विवाद विगत लामो समयदेखिको हो । 

यस्तो छ नालीबेली :
वि.स. २०७१ साल माघ महिनामा मधुदेवीले स्व. रूकुम शमशेर जबराको परिवारबाट उक्त जग्गा खरिद गरिन् । खरिद गरेको जग्गा भोगचलन गर्न खोज्दा त्याँहा बस्दै आएका राजेन्द्र साह तुराहाले जग्गा धनी, जग्गावाला, मध्यस्थकर्ता, भूमि सुधारका कर्मचारी, मालपोतका कर्मचारी लगायतलाई विरोधी बनाएर दुषित निर्णय बदर हुनुपर्ने भन्दै उजुरी दिए । उनले दिएको उजुरीमा सत्य तथ्य प्रमाण अपुग भएपछि जिल्ला अदालतबाट २०७३ असोज ११ गते मंगलवार खारेज भयो । 

जिल्ला अदालतबाट खारेज भइसकेको मुद्धालाई तुराहाले पुनः उच्च अदालतमा पुनरावेदन गरे । उच्च अदालतबाट पनि २०७५ मंसिर १९ गते जिल्लाकै सुचक हुने आदेश जारी भयो । दुवै ठाउँबाट मधुदेवीको पक्षमा फैसला भएपछि तुराहाले अन्तिम विकल्प सर्वाेच्च अदालत धाए । तर सर्वाेच्चबाट पनि तुराहाले निसाफ पाएनन् । सबुत प्रमाणको अभाव भन्दै उक्त मुद्धा खारेज भयो । 

हकभोग गर्ने बाटो खुल्यो :
जिल्ला, उच्च हुँदै सर्वाेच्च अदालतबाट समेत मधुदेवीकै पक्षमा फैसला आएपछि अब उनलाई जग्गा हकभोग गर्ने बाटो खुल्यो । तर त्यसका लागि स्थानीय सरकार मातहत रहेको न्यायिक समितिमा जग्गा हकभोग गराईदिन भन्दै मधुदेवीले निवेदन दिइन् । न्यायिक समितिमा विपक्षी राजेन्द्र साह तुराहाले प्रतिउत्तर नजनाएर उनले न्यायपालिकाको अवहेलना गरेको स्पष्ट भयो । तुराहाले अवहेलना गरेपछि उक्त मुद्धाको फैसला पनि मधुदेवीकै पक्षमा भयो । तत्पश्चात नगरपालिकाको न्यायिक समितिले कार्यपालिका र कार्यपालिकाबाट वडा कार्यालयमा अदालतको आदेशबमोजिम घरजग्गा खाली गराईदिन भन्दै परिपत्र भयो ।

वडा समितिले दिएको ३५ दिनको अवधिभित्र खाली गराउन समय तोक्दा पनि तुराहाले अँझै अटेरी गरेको पत्रमार्फत स्पष्ट हुन्छ । वडा समितिको समयअवधिभित्र घरजग्गा खाली गराउनुका साटो अँझै तुराहाले निषेधाज्ञा जारी गरे । २०७६ माघ १६ गते उच्च अदालतबाट निषेधाज्ञा खारेज भएपश्चात पुनः महानगरपालिकालाई जानकारी गराइएको मधुदेवीका छोरा प्रमोद गुप्ता बताउँछन् । 

दुःख दिने नियत :

कानुनी रुपमा घरजग्गा खाली गराउन महानगरले आदेश दिएपनि केही राजनीतिक दलका प्रतिनीधिहरुले वडाअध्यक्ष, जिल्ला सचिव, ५ जना भद्रभलादमी लगायतको रोहबरमा १५ दिनभित्र खाली गराउने सहमति गराए ।  सहमति भएपछि १५ दिनभित्र खाली हुने भनेर ढुक्क भएपनि त्यही बिचमा मधुदेवीविरुद्ध तुराहाले तहगत रुपमा पुनः ४÷५ वटा सम्म मुद्धा दर्ता गरे । २०७७ माघ १२ गते सबै मुद्धाको फैसला मधुदेवीकै पक्षमा आयो । 

त्यसपछि तुराहाले पुनः उच्च अदालतमा २ वटा उत्प्रेषण मुद्धा दर्ता गरे । फेरी सर्वाेच्चमा अर्काे मुद्धा दर्ता गरेपनि निवेदकले आफ्नो स्वामित्वको प्रमाण देखाउन नसक्दा मधुदेवीकै पक्षमा फैसला आउनु स्वभाविक थियो र त्यही भयो । पटक पटक मधुदेवीकै पक्षमा आदेश जारी हुँदा पनि आदेशलाई पालना नगरेर पटक पटक मुद्धा दर्ता गर्नुको पछाडी दुःख दिने नियत स्पष्ट देखिन्छ । 

भोगचलन गर्न आलटाल :

प्रहरी प्रशासनको सहयोगमा केही दिन अघि उक्त घर खाली गराइयो । अदालतले घर तथा जग्गा खाली गर्ने आदेश गरेअनुसार जग्गा खाली गराइएको वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको भनाई छ । 

यता, तुरहाले तीन पुस्तादेखि आफूहरूले उक्त जग्गामा बसोबास गरी गौशाला पनि सञ्चालन गर्दै आएको तथा पुनरावेदनको लागि अदालतमै मुद्दा चलिरहेको अवस्थामा दबाबमा घरजग्गा खाली गराएको भन्दै प्रहरीप्रति नै जाइलागे । तुरहाको परिवारले शुरूमा  घर खाली गर्न आलटाल गरेका थिए । पछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर घरभित्रका सामग्री निकालेर खाली गराएपनि उक्त घर जग्गा हकभोग गर्ने अवस्था नरहेको प्रमोद गुप्ताको गुनासो छ ।

खाली गरिएको जग्गाबाहिर लगाइएको पखाृल पनि तुराहाका परिवारले फोडेको शिशिटिभी फुटेजमा प्रस्ट छ ।  अहिले पनि हकभोग गर्न खोज्दा गाली गर्ने तथा हातपात सम्म गर्न खोजेको हुँदा सुरक्षित तवरले आफ्नो घरजग्गाको हकभोग गर्न पाउनुपर्ने गुप्ताको माग छ । 


Back to top